झापा। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद श्रीयम चौलगाईंका पिता गणेश चौलगाईंले फागुन २१ को निर्वाचनलाई न्यायको खोजी र राजनीतिक जवाफदेहिताको लडाइँका रूपमा चित्रण गर्दै झापा ५ का मतदातालाई विशेष अपिल गरेका छन्। उनले झापा–५ मा प्रतिस्पर्धामा रहेका रास्वपाका वालेन साह र एमालेका केपी ओली दुवै जनालाई चुनावमा पराजित गर्न आह्वान गरेका हुन्।
चौलागाईंले दुवै नेताप्रति तीव्र असन्तोष व्यक्त गर्दै जेनजी आन्दोलनप्रति गरिएको व्यवहारप्रति गम्भीर आपत्ति जनाए। उनका अनुसार जेनजी आन्दोलन कुनै सामान्य राजनीतिक सौदाबाजी नभई युवापुस्ताको भविष्यसँग जोडिएको महान संघर्ष थियो, जसलाई सत्ता केन्द्रित राजनीति र प्रदर्शनमुखी शैलीले ओझेलमा पारेको छ।
मंगलबार झापा गौरादह– वडा ७ मा झापा–५ बाट उम्मेदवारी दिएका नेपाल कम्युनिस्ट पार्टीका युवा उम्मेदवार रञ्जीत तामाङसँगको भेटमा उनले भने आन्दोलनमा जान उक्साउने र दमन गर्नेलाई भन्दा जेनजीका मुद्दा उठाउने उम्मेदवारलाई आफ्नो समर्थन रहने स्पष्ट पारे। यो आन्दोलन केवल चुनाव सार्ने वा जित्ने विषय थिएन, व्यवस्थाप्रतिको असन्तोष र परिवर्तनको चाहनाको अभिव्यक्ति थियो, उनले उल्लेख गरे।
उम्मेदवार तामाङले आन्दोलनका अधुरा एजेन्डा पूरा गर्ने प्रतिबद्धता जनाउँदै सहिद परिवारको विश्वासले आफ्नो जिम्मेवारी थप बढाएको प्रतिक्रिया दिए।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका १८ वर्षीय श्रीयम चौलगाईं मोरङको बेलबारी नगरपालिका–११ का स्थायी बासिन्दा थिए। परिवारसहित काठमाडौंको पेप्सीकोलामा बस्दै आएका उनी ग्लोबल कलेज अफ म्यानेजमेन्टमा कक्षा १२ मा अध्ययनरत थिए। श्रीयम परिवारका एकमात्र सन्तान थिए।
