Like this:

युक्रेनमा जेलेन्स्की जसरी नेपालमा रवि, वालेन अघि सारियो: दुर्गा प्रसाई
.
मेडिकल पेशाकर्मी र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालमा ‘डिप स्टेट’ मार्फत नयाँ राजनीतिक शक्ति र अनुहारहरू सृजना गरिएको भन्दै अत्यन्त गम्भीर आरोप लगाएका छन्। प्रसाईंले बिहीबार आफ्नै निवासमा पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, रास्वपाकै वरिष्ठ नेता बालेन शाह र नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई पश्चिमी शक्तिसँग जोडिएका व्यक्तित्वको रूपमा चित्रित गर्दै, नेपाललाई युक्रेनजस्तो अस्थिर बनाउने प्रयास भइरहेको दाबी गरे। उनले पत्रकार सम्मेलनमा विभिन्न भिडियो र प्रमाण सामग्री प्रस्तुत गर्दै नेपालमा ‘नेसनल इन्डोमेन्ट फर डेमोक्रेसी’ (एनइडी) जस्ता पश्चिमी संस्थाहरूको प्रत्यक्ष हस्तक्षेप भइरहेको आरोप लगाए। प्रसाईंका अनुसार, देशभित्रका केही शिक्षित र उच्च वर्गका व्यक्तिहरू ‘डिप स्टेट’ को मुख्य सहयोगी बनेका छन्। उनले बालेन साहजस्ता नेताहरू विदेशी स्रोतको सहयोगमा परिचालित भइरहेका छन् र सामाजिक सञ्जालको एल्गोरिदम प्रयोग गरेर जनमत प्रभावित पार्ने प्रयास भइरहेको बताए। प्रसाईंले सन् २०१३–१४ यता पश्चिमी शक्तिहरूले ‘फ्री तिब्बत’ एजेन्डालाई संस्थागत बनाउन लगानी गरिरहेको उल्लेख गर्दै, नयाँ राजनीतिक दल र नेताहरूलाई अगाडि सारेर नेपालको हिमाली भूभागमा चीनविरुद्धको रणनीति अघि बढाइरहेको आरोप लगाए। उनले जेन्जी आन्दोलन, सिंहदरबार र सर्वोच्च अदालतमा भएको आगजनीसमेत यही योजना अन्तर्गत भएको दाबी गर्दै भने, “बन्द कोठामा योजना बनाउने बालेन र रविजस्ता नेताहरू सडकमा आगो लगाउनेहरूसँग मिलेर काम गर्छन् र उनीहरूलाई कारबाही हुनु आवश्यक छ।” गोविन्द केसीको अनशनदेखि विवेकशील साझाको उदयसम्मका सबै घटनाहरू पश्चिमी शक्तिहरूको १३ वर्ष पुरानो योजना अनुसार भएको प्रसाईंको भनाइ छ। उनले युक्रेनमा जेलेन्स्कीलाई सामाजिक सञ्जाल मार्फत ‘हिरो’ बनाइएको उदाहरण प्रस्तुत गर्दै, नेपालमा पनि त्यही मोडल प्रयोग गरी बालेन र रविलाई अगाडि सारिएको आरोप लगाए।

Like this: