Like this:

बालेन, गगनसंग केपी ओली सार्वजनिक बहसमा सहभागी हुन तयार
balen,gagan

काठमाण्डौ,पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहस (पब्लिक डिबेट) मा सहभागी हुन आफू तयार रहेको बताएका छन्। भावी प्रधानमन्त्रीका दावेदार नेताहरूबीच प्रत्यक्ष बहस हुनुपर्ने माग बढिरहेको सन्दर्भमा ओलीले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

 

सामाजिक सञ्जालमार्फत उनले हालका सबै पुराना र नयाँ राजनीतिक दलहरू निर्वाचनमा होमिएको उल्लेख गर्दै देश निर्माण र विनाशबीचको प्रतिस्पर्धा भइरहेको बताएका छन्। उनका अनुसार नेकपा (एमाले) देश बनाउने पक्षमा उभिएको पार्टी हो। पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरूबीच खुला र पारदर्शी बहसको आवश्यकता बौद्धिक क्षेत्रबाट उठिरहेको उल्लेख गर्दै, सामाजिक सञ्जालमा तयार पारिएका प्रचार सामग्रीमार्फत मतदातालाई भ्रममा पार्ने प्रवृत्तिका कारण पनि डिबेटको माग आएको हुनसक्ने ओलीको भनाइ छ।
उनले यसपटकको निर्वाचनमा ऐतिहासिक भूमिका खेलेका दलदेखि नयाँ रूपमा उदाएका दलसम्म प्रधानमन्त्रीको उम्मेदवार सार्वजनिक गरेर मैदानमा आएको बताए। देशको नेतृत्व गर्न चाहने दलहरूले अहिलेसम्म के योगदान दिए, आगामी दिनमा के योजना र रोडम्याप छन् भन्ने विषयमा प्रत्यक्ष बहस हुनु सकारात्मक भएको ओलीको धारणा छ।

ओलीले आफूले अघिल्ला कार्यकालमा गरेका कामका तथ्य र आगामी दिनमा अघि सार्ने एजेन्डा सार्वजनिक बहसको मञ्चमा प्रस्तुत गर्न तयार रहेको स्पष्ट पारेका छन्। साथै, चुनावपछि प्रधानमन्त्रीका आकांक्षी सबै नेताहरूसँग प्रत्यक्ष प्रश्न-उत्तर हुने गरी आयोजना गरिने डिबेटमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्दै यस्तो बहस छिट्टै आयोजना गर्न आग्रह पनि गरेका छन्।

आगामी निर्वाचनमा एमालेबाट केपी शर्मा ओली, नेपाली कांग्रेसबाट सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भावी प्रधानमन्त्रीका रूपमा चर्चामा छन्। ओलीले पब्लिक डिबेटका लागि स्पष्ट प्रतिबद्धता जनाइसके पनि कांग्रेस सभापति गगन थापा र रास्वपाका बालेन्द्र शाहले यस विषयमा हालसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।

Like this: