Like this:

नेकपा र रास्वपा चुनावको तयारीमा, कांग्रेस र एमाले अन्योलमा
फागुन २१ गते....


काठमाण्डौ, देशको पछिल्लो राजनीति चुनाव र संसद पुनःस्थापनाको दुई धारमा विभाजित हुँदै गएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ को निर्वाचनलाई प्राथमिकतामा राख्दै तयारी तीव्र पारेका छन् । उनीहरूले चुनाव नै वर्तमान राजनीतिक समस्याको समाधान भएको दाबी गरेका छन् ।
नेकपाका नेताहरूले पार्टी एकता जनसभामार्फत समयमै निर्वाचन हुनुपर्ने धारणा सार्वजनिक गरिरहेका छन् । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक निकासका लागि चुनाव अपरिहार्य रहेको बताउँदै चुनाव अवरुद्ध गर्ने प्रयास नगर्न सबै पक्षलाई चेतावनी दिनुभएको छ ।
यता रास्वपाले पनि सरकारसँग समन्वय बढाउँदै फागुन २१ गते तोकिएको निर्वाचनमा ध्यान केन्द्रित गर्न आग्रह गरेको छ । सभापति रवि लामिछानेसहितको टोलीले प्रधानमन्त्री शुसिला कार्कीसँग भेट गरी निष्पक्ष र समयमै चुनाव गराउन जोड दिएको छ । प्रधानमन्त्रीले सरकारले घोषित मितिमा चुनाव सम्पन्न गराउने प्रतिबद्धता दोहोर्‍याउनुभएको छ ।
तर नेपाली कांग्रेस र नेकपा एमाले भने प्रतिनिधिसभा पुनःस्थापनाको मागलाई अघि बढाउँदै सर्वोच्च अदालत पुगेका छन् । दुवै दलले निवर्तमान सांसदहरूको बहुमत हस्ताक्षरसहित पूरक रिट दर्ता गर्ने तयारी गरेका छन् ।

Like this: