काठमाडौँ,कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ गते भएको हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकार र प्रधानमन्त्री ओलीले नै वहन गर्नुपर्ने बताएका छन्। राजधानी काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त दिनलाई नेपालको इतिहासमा अत्यन्तै दुःखद र कल्पनानै गर्न नसकिने ‘कालो दिन’ का रूपमा उल्लेख गरे।
भ्रष्टाचार र कुशासनको विरोधमा जेनजी पुस्ता सडकमा उत्रँदा भएको घटनामा थुप्रै युवाले ज्यान गुमाउनु परेकोप्रति उनले गहिरो पीडा व्यक्त गरे। जनआक्रोश सडकमा देखिनु स्वाभाविक भए पनि सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले राजनीतिक र नैतिक दायित्वबाट उम्किन नहुने थापाको भनाइ थियो।
उनले राजनीतिक नैतिकताको महत्व औँल्याउँदै भने, आफू त्यतिबेला जिम्मेवार पदमा भएको भए घटनाको सम्पूर्ण जिम्मेवारी स्वीकार गर्ने थिएँ। ठूलो पदमा बस्नेले अझ बढी जिम्मेवारी लिनुपर्ने भन्दै तत्कालीन प्रधानमन्त्री यस विषयमा जिम्मेवारीबाट अलग हुन नमिल्ने धारणा उनले राखे।
घटनापछि कांग्रेसले गृहमन्त्रीलाई राजीनामा दिन लगाएर राजनीतिक नैतिकताको उदाहरण प्रस्तुत गरेको दाबी गर्दै थापाले प्राविधिक छानबिन आफ्नो स्थानमा भए पनि सरकारको नेतृत्व गर्नेले नैतिक रूपमा जिम्मेवारी स्वीकार गर्न सक्नुपर्नेमा जोड दिए।
उनका अनुसार सार्वजनिक पदमा बसेकाको नैतिकता अत्यन्त महत्वपूर्ण हुन्छ, र राजनीतिक नैतिकता त्यसभन्दा पनि उच्च स्तरको हो। घटनाको कारणबारे छानबिन हुँदै जाला, तर त्यसको अन्तिम जिम्मेवारी सरकारमा रहेका व्यक्तिहरूले नै लिनुपर्ने उनले स्पष्ट पारे।

