काठमाडौं, आज छठ पर्वको मुख्य दिनमा देशभरका श्रद्धालुहरूले अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी विधिपूर्वक अर्घ्य दिइरहेका छन्। बिहानै नुहाएर दिनभर निराहार बसेका व्रतालुहरूले साँझ सूर्यदेवप्रति कृतज्ञता व्यक्त गर्दै अर्घ्य अर्पण गर्छन्।
४ दिनसम्म मनाइने सूर्य उपासना पर्व छठ कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चल्ने गर्छ। महाभारतका अनुसार पाण्डव र द्रौपदीले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए, सोही कालदेखि यो पर्वको सुरुवात भएको मानिन्छ।
सूर्य पुराणका अनुसार ऋषि अत्रिकी पत्नी अनुसूयाले पहिलोपटक छठ व्रत गरेकी थिइन्, जसको फलस्वरूप उनले अखण्ड सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यसै समयदेखि छठ पर्वलाई शुद्धता, आस्था र सूर्यप्रतिको कृतज्ञताको प्रतीकका रूपमा मनाइँदै आएको छ।
सूर्य सम्पूर्ण जीवन र ऊर्जाको स्रोत मानिन्छ। सूर्य किरण बिना संसारमा जीवन सम्भव छैन। प्राचीन ग्रन्थदेखि आधुनिक चिकित्सा विज्ञानसम्म सूर्यको किरणले अनेक रोग निको पार्ने उल्लेख पाइन्छ। साम्व पुराणमा भगवान श्रीकृष्णका छोरा साम्बले सूर्यको आराधनाद्वारा कुष्ठरोगबाट मुक्ति पाएको कथा प्रसिद्ध छ। यसैले छठ व्रतले दुःख, दरिद्रता र रोगबाट मुक्ति दिलाउँछ भन्ने जनविश्वास रहिआएको छ।
छठको व्रतविधि
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एकछाक मात्र खानु र पाँचमीका दिन “खरना” नामक विधि अन्तर्गत चामलको खीर बनाएर षष्ठी मातालाई चढाइन्छ। त्यसपछि व्रतालुले प्रसादस्वरूप खीर ग्रहण गरी नुनरहित फलाहार गर्छन्।
मुख्य दिन अर्थात् षष्ठीका दिन बिहानदेखि रातिसम्म कठोर निराहार व्रत बसिन्छ। साँझपख नदी, पोखरी वा घाटमा गएर अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइन्छ। भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत सम्पन्न हुन्छ। यसरी सूर्यलाई विधिपूर्वक अर्घ्य दिएमा स्वास्थ्य, सन्तान सुख र सम्पन्नता प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ।
एक समयमा तराई क्षेत्रमा सीमित यो पर्व अहिले राष्ट्रिय स्तरमा फैलिएको छ। विसं २०४६ देखि सरकारले छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिने गरेको छ। राजधानीका गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, बागमती, विष्णुमती, नख्खुलगायत नदी किनारहरूमा आज विशेष सजावट गरिएको छ।
छठ पर्वमा व्रतालुले लसुन, प्याजलगायत तामसी खाना त्यागी सात्विक आहार ग्रहण गर्छन्। शुद्धता, संयम र आस्थासहित मनाइने यो पर्व नेपाली समाजमा अत्यन्त पवित्र र धार्मिक चाडका रूपमा स्थापित भएको छ।

