Like this:

प्रचण्डको सन्देश : सबै मिलेर समृद्ध नेपाल बनाऔँ
#prachanda

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनका पक्षमा उभिएका सबै शक्तिहरूबीच आपसी सम्मान, सामाजिक एकता र सहकार्यको भावना मजबुत बनाउन आग्रह गरेका छन्।

छठ पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले भनेका छन्, हामी सबैले आपसी सद्भाव र सहकार्यको वातावरण सुदृढ गर्दै समृद्ध, न्यायपूर्ण र समाजवादी नेपालको निर्माणतर्फ अघि बढ्नुपर्छ।

प्रचण्डका अनुसार हालको राजनीतिक, आर्थिक र सामाजिक चुनौतीका बीचमा छठ पर्वले दिने आत्मबल, धैर्य र सकारात्मक सोच अझै आवश्यक बनेको छ। उनले थपे, “यो पर्वले प्रकृति र मानवभित्रको अँध्यारोलाई चिर्दै सबैमा मनको उज्यालो, पवित्रता र सकारात्मक ऊर्जा फैलाओस्। देशमा शान्ति, स्थायित्व र समृद्धिको नयाँ प्रभात उदाओस् भन्ने कामना गर्दछु ।

मधेश र तराई क्षेत्रमा मुख्य रूपमा मनाइने छठ पर्व नेपाली समाजको श्रम, संस्कृति, परम्परा र जनजीवनसँग गहिरो रूपमा जोडिएको उनले उल्लेख गरे। प्रचण्डका अनुसार, यो पर्वले मानव र प्रकृतिबीचको सम्बन्धलाई अझ गहिरो बनाउँदै सहअस्तित्व, सन्तुलन र आत्मशुद्धिको चेतना जगाउने काम गर्छ।

Like this: