काठमाण्डौ / पूर्व ऊर्जामन्त्री दीपक खड्का आफ्नो घर जलाइएको घटनापछि मंगलबार पहिलोपटक सार्वजनिक भएका छन। नेपाली कांग्रेसका नेता खड्काले काठमाडौंस्थित जलेको घरअगाडि पत्रकार सम्मेलन गर्दै आफू भागेको भन्ने आरोपको कडा रुपमा खण्डन गरे।
गृहमन्त्री ओमप्रकाश अर्यालले अमेरिकातर्फ खड्का फरार भएको दाबी गरेपछि उनले स्पष्ट पारे म अमेरिका भागेको छैन, यो सरकारसँग डराउँदिनँ। सरकारले वारेन्ट जारी गरेको छैन, न त विदेश जान प्रतिबन्ध लगाएको छ। त्यसो हुँदा म भागेको कसरी हुन्छ ?
उनका अनुसार भदौ २४ गतेको जेनजी आन्दोलनका दिन उनी घरमै थिए। म खाना खाँदै थिएँ, त्यही बेला आन्दोलनकारीहरूले ढोका ठोक्दै आक्रमण गर्न थाले। खाना खान पनि पाइनँ, बच्चालाई खुवाउन पनि सकिनँ, उनले भने। सुरक्षाकर्मीहरूले उनलाई तत्काल सुरक्षित स्थानमा लगेको उनले बताए।
खड्काले त्यस रात छिमेकीको घरमा बसेर पछि नेपाली सेनाको ब्यारेकमा शरण लिएको खुलासा गरे। त्यसपछि केही दिन तराईमा बसेर उपचारका लागि भारत गएको उल्लेख गर्दै उनले भने, “म र मेरी श्रीमती–सन्तान बिरामी थियौं, डेंगुको उपचारका लागि भारत गएका थियौं। त्यहाँ केही मन्त्रीहरूसँग पनि भेट भयो।”
वर्तमान राजनीतिक परिस्थितिबारे उनले विस्तृत टिप्पणी गर्न चाहेनन्। तर उनले भने, यो परिस्थितिजन्य सरकार हो। देशको जिम्मेवारी राजनीतिक दल र जनताले लिनुपर्छ।”
खड्काले आफू कुनै आरोपबाट विचलित नहुने र सत्यको पक्षमा दृढ रहिरहने बताए।
