फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण कोटाबातो, सुल्तान कुदारत, साराङ्गानी र जनरल सान्तोस सिटीसहित सोक्सस्कार्गेन क्षेत्रमा मात्रै १२ जनाको मृत्यु भएको छ भने बाँकीको अन्य प्रभावित क्षेत्रमा ज्यान गएको हो।
घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर रहेको र भूकम्पका कारण धेरै स्थानमा घर, भवन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको आशङ्का गरिएको छ।भूकम्पलगत्तै प्रभावित क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरी राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। फिलिपिन्स सरकारको समाज कल्याण तथा विकास विभाग (डिएसडब्लुडी) ले मिन्डानाओमा ११ लाखभन्दा बढी र देशभर करिब ४७ लाख पारिवारिक फूड प्याक आपतकालीन प्रयोगका लागि तयारी अवस्थामा राखेर वितरण सुरु गरिसकेको छ।
स्थानीय प्रशासनसँगको समन्वयमा उद्धार टोली र सामाजिक कार्यकर्ताहरू निकासी केन्द्रहरूमा परिचालन गरिएका छन् भने फिलिपिन्स राष्ट्रिय प्रहरी लगायतका सुरक्षा निकायहरूलाई सम्भावित परकम्प र थप जोखिमको निगरानीका लागि पूर्ण तयारी अवस्थामा राखिएको छ।
यसैबीच, राष्ट्रपति फर्डिनान्ड मार्कोसले नागरिक रक्षा कार्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्लाई तत्काल सक्रिय बनाउँदै नौ प्रान्तका तटीय क्षेत्रका बासिन्दालाई उच्च स्थानतर्फ सर्न निर्देशन दिएका छन्। भूकम्पपछि जापान, फिलिपिन्स र इन्डोनेसियाका तटीय क्षेत्रमा सुनामीको खतरा देखिएकाले उच्च सतर्कता अपनाउनुका साथै इन्डोनेसियाका विभिन्न टापुहरूमा समेत निकासी आदेश जारी गरिएको छ।
अमेरिकी प्यासिफिक सुनामी वार्निङ सेन्टरले फिलिपिन्सको तटीय क्षेत्रमा तीन मिटर र इन्डोनेसिया तथा मलेसियाका केही भागमा एक मिटरसम्म सुनामी आउन सक्ने सम्भावना औंल्याएपछि क्षेत्रीय स्तरमा उच्च सतर्कताका साथ उद्धार कार्य जारी राखिएको छ।
