Spread the love
Spread the love
विपदमा परी हालसम्म ४० जनाको मृत्यु
इलाममा मात्रै २८ जनाले ज्यान गुमाएका छन्
Spread the love

काठमाण्डौ / पछिल्ला दुई दिनयता देशभर विभिन्न प्रकारका प्राकृतिक विपद् तथा दुर्घटनाका घटनाले ठूलो जनधनको क्षति पुर्‍याएको छ। सशस्त्र प्रहरी बल, नेपालले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बाढी, पहिरो, चट्याङ र सवारी दुर्घटनाका घटनामा परी हालसम्म ४० जनाको मृत्यु भइसकेको छ।

यी घटनामा १३ जना घाइते भएका छन् भने ११ जना अझै बेपत्ता रहेको सशस्त्र प्रहरीले जनाएको छ। खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको र प्रभावित क्षेत्रहरूमा उद्धार टोली परिचालन गरिएको सशस्त्र प्रहरीको भनाइ छ।

सबैभन्दा बढी क्षति पूर्वी नेपालको इलाम जिल्लामा पुगेको छ। अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण इलाममा मात्रै २८ जनाले ज्यान गुमाएका छन् भने दुई जना गम्भीर घाइते भएका छन्। स्थानीय प्रशासन, सशस्त्र प्रहरी, नेपाली सेना र जनपद प्रहरीको संयुक्त टोलीले उद्धार र राहत कार्य अघि बढाइरहेका छन्।

यस्तै देशका अन्य विभिन्न स्थानहरूमा समेत बाढी, पहिरो र चट्याङका कारण जनजीवन प्रभावित बनेको छ। सडक अवरुद्ध भएका कारण यातायातमा समेत समस्या सिर्जना भएको छ भने धेरै स्थानमा बिद्युत् र सञ्चार सेवा पनि अवरुद्ध भएको रिपोर्टहरू आएका छन्।

संबन्धित निकायहरूले नागरिकलाई सतर्क रहन, जोखिमयुक्त स्थानमा नबस्न र आवश्यक परे नजिकको सुरक्षासंस्थासँग सम्पर्क गर्न आग्रह गरेका छन्।