चितवन/ वडा दशैं नजिकिँदै गर्दा चितवनको इच्छाकामना गाउँपालिका–६ तुइन खोलाको पुल नजिक शुक्रबार साँझ खसेको पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ। शनिबार दिनभर पाँचवटा मेसिन प्रयोग गरी काम भए पनि ठूला ढुंगासहित बारम्बार पहिरो खसेपछि सडक खोल्न सकिएको छैन।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार मानवीय क्षति नभए पनि मेसिन क्षतिग्रस्त भएका छन्। शनिबार राति सुरक्षाको कारणले काम रोकिएको र आइतबार बिहानदेखि पुनः प्रयास गर्ने तयारी गरिएको छ।
सडक डिभिजन भरतपुरका प्रमुख नारायणप्रसाद लामिछानेका अनुसार पहिरोले डेढ सय मिटरभन्दा बढी सडक ढाकेको छ। भौगोलिक बनावट कमजोर भएको र टुक्रे चट्टानका कारण बारम्बार सुक्खा पहिरो खसिरहेको हुँदा काममा कठिनाइ आएको उनले बताए। निर्वाध रूपमा काम भए पनि कम्तीमा ८–१० घण्टा लाग्ने अनुमान गरिएको छ।
सडक अवरुद्ध हुँदा करिब ६–७ सय गाडी दुबैपट्टि अड्किएका छन् भने हजारौँ यात्रु बिचल्लीमा परेका छन्। दसैंमा यात्रा सहज बनाउनुपर्ने वेलामा बाटो कहिले खुल्छ भन्ने निश्चितता नरहेको अधिकारीहरूले जनाएका छन्।

