Spread the love
Spread the love
रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी छाडे, अर्को पार्टी खोल्ने
रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ अहिले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष छिन्। तर, विगत केही समयदेखि उनीहरूबीच राजनीतिक मतभेद र आन्तरिक विवाद चर्किंदै आएको थियो।
Spread the love


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद रेशमलाल चौधरीले आइतबार पार्टी परित्याग गरेको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै अब आफू नयाँ पार्टी निर्माणमा लाग्ने बताएका छन्।

रेशम चौधरीले आफूले बनाउँदै गरेको दलको नाम ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ रहने उल्लेख गरेका छन्। उनका अनुसार आजैदेखि संगठन विस्तार र नेतृत्व संरचना निर्माणमा काम सुरु गरिनेछ।

श्रीमतीसँगको विवादकै कारण नयाँ बाटो

रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ अहिले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष छिन्। तर, विगत केही समयदेखि उनीहरूबीच राजनीतिक मतभेद र आन्तरिक विवाद चर्किंदै आएको थियो। यही कारण उनले पुरानो पार्टी छाडेर नयाँ दल घोषणा गरेको चौधरीको भनाइ छ।

गत साउनमा रेशम पक्षले काठमाडौंमा राष्ट्रिय भेला गर्दै रञ्जितालाई अध्यक्ष पदबाट हटाई उनका बुबा लालवीर चौधरीलाई पार्टी अध्यक्ष बनाउने निर्णय गरेको थियो। तर, उक्त निर्णयलाई निर्वाचन आयोगले अस्वीकृत गरेको थियो। त्यसयता पार्टीभित्रको विवाद थप गहिरिँदै गएको थियो।

रेशमको भनाइ

भिडियो सन्देशमा चौधरीले भनेका छन्, “म नागरिक उन्मुक्तिबाट अलग भएको घोषणा गर्दछु। मलाई अब झगडा गर्नु छैन। म आजैबाट नयाँ पार्टी निर्माणमा लाग्छु। राजनीति नगरी बस्न सक्दिनँ।”

उनले आफ्नो नयाँ राजनीतिक यात्रामा पुराना साथी–सहकर्मीलाई साथ दिन आग्रह गरेका छन्। साथै, रञ्जिता श्रेष्ठ वा अन्य नेतासँग व्यक्तिगत दुस्मनी नरहेको पनि प्रष्ट पारेका छन्।

टीकापुरदेखि नयाँ दलसम्म

थरुहट आन्दोलनको क्रममा टीकापुरमा आठजनाको ज्यान गएको घटनामा दोषी ठहर भई रेशम चौधरी लामो समय जेल जीवन बिताएका थिए। कैद मिनाहा भएपछि उनले सक्रिय राजनीति सुरु गर्दै श्रीमती रञ्जिताको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए। पछि पार्टीको महाधिवेशनमार्फत आफूलाई अध्यक्ष बनाउने प्रयास गरे पनि निर्वाचन आयोगले त्यसलाई मान्यता दिएको थिएन।

अब भने उनले नयाँ दलको घोषणा गर्दै स्वतन्त्र संगठन विस्तारमा लाग्ने संकेत गरेका छन्। उनका अनुसार नयाँ पार्टीले थरुहट–तराईका मुद्दा मात्रै नभई राष्ट्रिय राजनीति समेट्नेगरी काम गर्नेछ।