खोटाङ, भदौ १६ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा कांग्रेस जिल्ला सदस्य श्यामकुमार राईमाथि यात्रुवाहक सुमो रोकेर भरुवा बन्दुक तेर्साएको आरोप लागेको छ।
ना१ज ४३७२ नम्बरको सुमो चलाइरहेका चालक सविन तामाङका अनुसार सोमबार बिहान खार्मीस्थित आफ्नै घर अगाडि नेता राईले बन्दुक तेर्साउँदै गाडी रोकेका थिए। उनले आफूहरूले सडक मर्मत गरेको भन्दै पैसा माग गरेको पनि बताएका छन्।
प्रत्यक्षदर्शी यात्रु दिलिप राईका अनुसार बन्दुक खोस्ने काम नेता राईकी पत्नी टीका राईलगायतले गरेका थिए। चालक तामाङले भने आइतबार पनि नेता राईले गाडी रोकेर रकम माग गरेको दाबी गरेका छन् l
त्यसअघि आइतबार, सोही ठाउँमा अर्को सुमो चालक जीवन कार्कीलाई रोक्दै तीन हजार रुपैयाँ असुलेको स्थानीय यातायात व्यवसायीहरूले बताएका छन्।
घटनापछि चालक तामाङले भिडियोसहित प्रहरीलाई जानकारी गराएका थिए। प्रहरी टोली घटनास्थल पुग्दा राईको घरमा तालाबन्दी गरिएको पाइएको वरिष्ठ हवल्दार वीन्द्रबहादुर नेपालीले बताए। जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश बुढोथोकीका अनुसार घटनामा संलग्न दम्पतीको खोजी जारी छ।
स्थानीय वडाध्यक्ष इखबहादुर राईले सामाजिक सञ्जालमार्फत दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न आग्रह गरेका छन्।
स्थानीय बासिन्दाका अनुसार श्यामकुमार राई यसअघि पनि मादक पदार्थ सेवनपछि अशान्ति सिर्जना गर्ने गतिविधिमा संलग्न हुँदै आएका थिए। उनी खार्मीस्थित जालपा आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका छन्।

