काठमाडौं, साउन १० –
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलिङ पिरियडको विषयमा भएको षड्यन्त्र सरकारको नेतृत्वमै रहेको पार्टी नेकपा (एमाले)ले गरेको स्पष्ट भएको बताएका छन्।
शनिबार काठमाडौंको सितापाइलामा आयोजित शिक्षक संगठनको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय सभामा कुलिङ पिरियडसम्बन्धी त्रुटि सच्याउन सबै सांसदले संशोधन दर्ता गर्ने सहमति भए पनि एमालेले त्यसविरुद्ध अडान लिएपछि षड्यन्त्रको पर्दाफास भएको बताए।
“पहिले दुई वर्षे कुलिङ अफ पिरियडको पक्षमा संशोधन ल्याउने भनेर सबैले भनेका थिए। अहिले त्यो राख्न हुन्न भन्दै अन्त्यमा बिरालोले म्याऊ गरेजस्तै एमालेले म्याऊ गरी नै हाल्यो,” प्रचण्डले भने, “उसको नै रहेछ यसका विरुद्ध षड्यन्त्र गर्ने नियत।”
प्रचण्डले यस घटनाको प्रत्यक्ष जिम्मेवारी एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने स्पष्ट पारे।
“शंकाको सुई पहिले पनि प्रधानमन्त्रीतिरै सोझिएको थियो। तर ठोस रूपमा भन्ने आधार थिएन। अहिले एमाले सांसदहरूको गतिविधि र संशोधन अस्वीकारले यो एमाले र त्यसको नेतृत्वकै नियतले भएको पुष्टि भएको छ,” उनले भने।
अध्यक्ष प्रचण्डले एमालेको यस्तो भूमिकाले शंकालाई पुष्टि गरिदिएको भन्दै अब प्रधानमन्त्री स्वयंलाई पनि छानबिनको दायरामा पार्नुपर्ने माग दोहोर्याएका छन्।

