Like this:

नेकपा विभाजनपछि एमालेमा लागेका पूर्वमाओवादीको हरिविजोग

नेकपा एमालेभित्र अहिले एक हलचल चलिरहेको छ — त्यो हो विद्या भण्डारीको एमालेमा पुनः आगमन सक्रियता बढेसंगै एमालेमा केपी ओली र विद्या भण्डारीको टकरावले पूर्वमाओवादी र मसाल पृष्ठभूमिबाट आएका नेताहरूको अस्तित्व संकट झनै चर्किएको छ। कुनै समय आफ्नै बलबुताले आन्दोलनको धारा सिर्जना गरेका, जनयुद्धमा नेतृत्वदायी भूमिका खेलेका अनि एमालेमा विलय भएका नेताहरू अहिले ‘न घरको न घाटको’ अवस्थामा पुगेका छन् ।विद्या भण्डारीको एमालेमा पुनः सक्रियता बढेसंगै यो स्थिति अझ पेचिलो बनाएको देखिन्छ । ओलीको वरिपरि सधैं चाकरी गर्ने, हाजिरी बजाउने शैलीले पुराना र आदर्शवादी नेताहरू पन्छाइँदैछन् । यस भित्रका सबैभन्दा पीडित छन्— माओवादी पृष्ठभूमिबाट आएका नेताहरू ।

बादलदेखि लेखराज भट्टसम्म, गुमनामको सञ्जाल

रामबहादुर थापा ‘बादल’ — एक समयका सर्वाधिक शक्तिशाली नेता, गृहमन्त्री, माओवादी सैन्य रणनीतिकार, नेकपा सचिवालय सदस्य । एमाले अध्यक्ष ओलीले माओबादी जनयुद्द्को विरोध । पार्टी बैठकमा केही बोल्दैनन्, नेताहरूसँग छलफल गर्दैनन्, कार्यकर्ताबीच उपस्थिति छैन । उनलाई ‘सेनाबिनाको कमाण्डर’ को संज्ञा दिइएको छ ।यस्तै हाल छ लेखराज भट्टको । सचिव बन्ने सौभाग्य त पाए, तर नाम मात्रको भूमिकामा सीमित छन् । मणि थापा मन्त्री बने, तर अब राजनीतिमा देखिँदैनन् । टोपबहादुर रायमाझी त नक्कली शरणार्थी प्रकरणमा जेल परेपछि पदमात्र गुमाएका छैनन्, राजनीतिक जीवन नै समाप्तप्रायः भएको छ । प्रभु साह चाहिँ एमाले छाडेर नयाँ पार्टी खोलेर अलग्गिए ।

तल्लो तहमा विद्रोहको संकेत

केन्द्रीय नेताहरू मात्र होइन, जिल्लास्तरका पूर्वमाओवादी नेताहरू पनि निराश छन् । बाग्लुङका लिलाबहादुर थापा, महोत्तरीका टेकबहादुर बलाम्पाकी, बालकृष्ण काउचालगायत थुप्रै नेताहरू पुरानै माओवादी केन्द्रमा फर्किसके वा फर्किने मनस्थितिमा छन् । बाग्लुङजस्तो जिल्लामा माओवादी जनाधार अझै बलियो छ, तर त्यहाँ एमालेले उनीहरूलाई जिम्मेवारी दिएको छैन ।लीलाबहादुर थापालाई सामान्य क्षेत्र इञ्चार्ज बनाएर उहाँभन्दा कति जुनियर मना केसीलाई जिल्ला इञ्चार्ज बनाइएको छ, जसले थप आक्रोश बढाएको छ । यसै सन्दर्भमा एक नेताले भनिरहेका छन् — "एमालेमा अब हाट्टहुट्ट गर्ने, पैसावाल मात्र टिक्न सक्छ । जनताबीच काम गरेर आएका हामीजस्ता कार्यकर्ता सौतेनी व्यवहार भोगिरहेका छौं ।

"जिम्मेवारी विहीनता र राजनीतिक बेइज्जती

नेकपा विभाजनको बेला ओलीलाई शक्ति आवश्यक थियो । त्यसैले उनले पूर्वमाओवादी नेताहरूलाई मन्त्री, पदाधिकारी, प्रदेश संयोजक जस्ता भूमिका दिए । तर, अहिले शक्ति पुनः सञ्चय गरेपछि ती सबैलाई बिसाउनेक्रम सुरु भएको छ ।नेताहरू जिम्मेवारी नपाएर र संगठनमा स्थान नपाएर विस्थापित भइरहेका छन् । त्यति बेला बादलसँग रहेका २३ जना केन्द्रीय सदस्यमध्ये कति राजनीतिबाट बाहिरिए, कति माओवादीमै फर्किए, केही संगठनमा ‘नदेखिने’ नाम बने ।पार्टी महाधिवेशनमा चुनाव नभइ सर्वसम्मत नेतृत्व तय गरिएको नाटक पनि यी नेताहरूलाई पद दिन मात्र गरिएको देखियो । चुनाव भएको भए उनीहरू चुनिने स्थिति थिएन ।

न सम्मान, न सामर्थ्य

पूर्वमाओवादी समूह आफैं एकजुट छैन । कोही बालुवाटारप्रति समर्पित छन्, कोही आन्तरिक रूपमा असन्तुष्ट तर बोल्न सक्ने अवस्था छैन । नेतृत्वको अभावमा आन्तरिक असन्तुष्टि मुखर हुन सकिरहेको छैन । न त कुनै प्रभावशाली मोर्चा बनाइरहेका छन्, न सामूहिक आवाज उठाउने स्थिति छ ।सत्तामा पुगेबापत आशा बोकेर आएका नेताहरू अब न घर फर्कन सक्ने, न नयाँ मोर्चा बनाउन सक्ने दोधारमा छन् ।

जनयुद्धको सिङ्गो विरासत त्यागेर आएका नेताहरू आज आफैंको अस्तित्व जोगाउन संघर्षरत छन् ।नेकपा एमालेमा माओवादी मूलका नेताहरूको अवस्था कुनै राजनीतिक यात्राको सम्मानित विस्तार होइन, बरु एउटा कष्टपूर्ण धसिनेक्रम हो । ‘हामी सौतेला हौं, हाम्रो योगदानको कदर छैन’ भन्ने गुनासो उनीहरूको मात्रै होइन, एउटा सिङ्गो राजनीतिक धाराको बेइज्जती हो ।

विरासत, योगदान र संघर्ष बिर्सेर शक्ति केन्द्रित पार्टीमा रूपान्तरण भएको एमालेभित्र यी नेताहरूका लागि कुनै उज्यालो भविष्य देखिँदैन । अहिले उनीहरू न आवाजमा छन्, न विकल्पमा । यही कारण उनीहरूको अवस्था अहिले साँच्चैको “हरिबिजोग” बनेको छ ।

Like this: