नेपालमा आर्थिक अनुशासनहीनता बढ्दै जाँदा बेरुजुको आकार वर्षेनी बढ्दो छ । संघदेखि स्थानीय तहसम्मकै आर्थिक गतिविधिहरू पटक्कै पारदर्शी देखिएका छैनन् । जसको परिणामस्वरुप कारवाही गरी टुंगो लगाउनुपर्ने बेरुजु झन्डै १३ खर्ब नजिक पुगेको छ ।
अधिकांश स्थानीय तहमा आर्थिक अपारदर्शीताका बग्रेल्ती कैफियत महालेखापरीक्षक कार्यालयले वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । तर, यसमा अपवाद बनेको छ, काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका । गत आवको लेखापरीक्षणबाट यो गाउँपालिकाको बेरुजु शून्य कायम भएको छ । अर्थात्, बेरुजु नै छैन । शून्य बेरुजु कायम गरेको भन्दै महालेखाले उत्कृष्ट पालिकाका रुपमा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बालाई सम्मान गरेको छ ।
महालेखाको ६७ औं वार्षिकोत्सव समारोहमा आइतवार सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले महालेखाको प्रशंसापत्र जिम्बालाई प्रदान गरे । आव ०८०÷८१ को लेखापरीक्षण गर्दा स्थानीय तहतर्फ गाउँपालिकाको लगती बेरुजु शून्य देखिएको भन्दै महालेखाले उनलाई सम्मान गरेको हो । गत आवमा गाउँपालिकाले चालू, पुँजीगत र वित्तीय/अन्य व्यवस्थातर्फ गरेर कुल ७२ करोड ८८ लाख ६८ हजार रुपैयाँ खर्च गरेको थियो ।
महालेखाले लेखापरीक्षण गर्दा प्रारम्भिक प्रतिवेदनबाट ५७ लाख रुपैयाँ बेरुजु कायम भएको थियो । तर, त्यो पूरै रकम गाउँपालिकाले फस्र्योट गरिदिएपछि महालेखाले बेरुजु सम्परीक्षण गरिदिएको थियो । अध्यक्ष जिम्बाले आफूहरूको निष्ठा र कानुनसम्मत काम गराइको परिणामले गाउँपालिका बेरुजुविहीन भएको प्रतिक्रिया दिए । जुम्बा गाउँपालिका अध्यक्षमा नेकपा माओबादी केन्द्रबाट दोस्रो पटक निर्वाचित भएका हुन् ।
