रौतहट :- आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान कांग्रेस - एमाले गठबन्धनको सरकारले मुलुकमा लुट–भ्रष्टाचारलाई संस्थागत गरेको बताएका छन्। प्रधानमन्त्री केपी ओलीले सुशासनको कुरा गरे पनि उनकै संरक्षणमा लुट–भ्रष्टाचार संस्थागत भइरहेको आरोप साहले लगाए । गृहजिल्ला रौतहट पुगेका साहले जिल्लाको गुजरा नगरपालिकाको बलुवा टोलमा बुधबार पार्टीद्वारा आयोजित ‘भ्रष्टाचारविरुद्ध अन्तर्क्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकलाई भ्रष्टाचार, लुट एवं लुटकारी दलाल दलतन्त्रको अन्त्यका लागि आमजनता एकजुट भएर सडकमा उत्रिनुपर्ने आवश्यक रहेको बताए ।
‘प्रधानमन्त्री केपीजीले सुशासनको कुरा गर्नुहुन्छ तर, केपीकै संरक्षणमा मुलुकमा लुट–भ्रष्टाचार संस्थागत भइरहेको छ । गर्ने चाहि केही पनि होइन, तर गफ जहिले पनि सुशासनको गर्नुहुन्छ,’ आजपा अध्यक्ष साहले भने, ‘आज मुलुकमा बढ्दै गइरहेको भ्रष्टाचार, कुशासन, लुट, मनोमानी एवं सरकारपिच्छेको मनोमानी करले आमजनता निराश छन्, आक्रोशित छन् । यसकाे निकास एउटै हो– हामी एकजुट भएर यस्तो गफाडी सरकारका विरुद्धमा सडकमा उत्रिनैपर्छ ।
’ नेकपा (एमाले), नेपाली कांग्रेसको दुईतिहाइको शक्तिशाली सरकारले गफ गर्नुको साटो जनताको चाहनाअनुसार काम नगरेको उनले बताए । जनताको चाहना, आवश्यकताअनुसार सरकारले काम नगरेका कारण जनतामा निराशा, आक्रोश बढ्दै गइरहेको र नेतृत्वमाथि प्रश्न उठिरहेको उनले बताए । ‘नेपालको हावा, पानी, जमिन, यहाँको मान्छे सबै ठिक छ, स्वस्थ छ । प्राकृतिक सम्पत्तिले पनि धनी । तर, मुलुकको नेता र वर्तमान सरकारका कारण मुलुक समृद्ध हुन सकेन । आमजनताको शासन हामीले खोजेका थियौँ। राजतन्त्र हटयो, तर यहाँ छोटे राजाहरूको आतंक बढेको छ
। त्यसैले जनता निराश र आक्रोशित छन्,’ आजपा अध्यक्ष साहले भने, ‘नेपालभन्दा भारत र चीन ठुलो देश हो। जनसंख्या पनि हामीभन्दा धेरै गुणा बढी छ। तर, त्यहाँ विभिन्न सामानहरू सस्तो हुने नेपालमा महँगो किन ? यहाँ सरकारैपिच्छे कर र करको पनि कर लिने, त्यसैले यहाँ सबै सामानहरू महँगो भयो । हामीले आमजनताको शासन ल्याउन र करमुक्त मुलुक निर्माण गर्न भ्रष्ट नेता र सरकारका विरुद्धमा आवाज उठाउनैपर्छ ।’ अहिले मुलुकले लोकतान्त्रिक बाटो बिराएकाले त्यसलाई करेक्सन गर्न कांग्रेस तयार हुनुपर्ने उनले बताए। ‘मुलुकले लोकतान्त्रिक बाटो बिराएको छ । त्यो करेक्सन हुनुपर्छ, साहले भने।

