काठमाडौं । एमालेका महासचिव शंकर पोख्रेललले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एमालेविरुद्ध परिचालित भएको आरोप लगाएका छन् ।
शुक्रबार काठमाण्डौको दरबारमार्गमा नेकपा एमालेले आयोजना गरेको सभामा फोहोर गरेको भन्दै महानगरपालिकाले १ लाख जरिवाना गरेपछि महासचिव पोख्रेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।
“काठमाण्डौं महानगरका मेयर वालेन नेकपा(एमाले)का विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभा पछि सार्वजनिक गरिएको जरिवाना पर्चावाट बुझ्न सकिन्छ । कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फवाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्विकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा । जतिवेला महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गरियो त्यतिवेला स्वयम् सेवकहरु कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राख्दै थिए । मंच र मंचमा प्रयोग गरिएका सामाग्री हटाउने काम सगसंगै जारी नै थियो ।
तर पनि मेयरको ध्यान सरसफाईमा होइन जरिवानाको स्टण्टवाजीमा थियो । जुन समय अगावै सार्वजनिक गरियो ।
नेकपा(एमाले) पार्टी आफ्नो कार्यक्रम पछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर वालेनलाई ।
जागरण सभा यस प्रकारका स्टण्टवाजी गर्नेहरुलाई सचेत बनाउनका लागि पनि हो ।