खेतमा घाँस काटिरहेकी हिरादेवीको बाघको आक्रमणबाट मृत्यु

कञ्चनपुर

बिहीबार बिहान २६ वर्षीया हीरादेवी शाह घरनजिकै धान खेतमा घाँस काट्न गइन् । करिब १० बजेको थियो । तल्लो मल्लो खेतमा पनि महिला घाँस काट्दै थिए । नजिकैको उखुबारीबाट आएको बाघले पछाडिबाट आक्रमण गरेर उनलाई घिसार्दै लग्यो । तल्लो र माथिल्लोपट्टिको खेतमा रहेका महिलाहरू हल्ला गर्दै पछि लागे ।

हल्ला भएपछि जम्मा भएका स्थानीय र सुरक्षाकर्मी खोज्दै जाँदा हीरा उखुबारीभित्र मृत अवस्थामा भेटिइन् । ‘म पनि खेतमा घाँस काट्दै थिएँ, उनीभन्दा अलि माथि थिइन्,’ हीराकी जेठानी मीनाले भनिन्, ‘घिसार्दै लगेको मात्रै देखें, त्यसपछि जाँदा त उखुबारीभित्र लगिहाल्यो ।’

रोपाइँपछि धानमा उम्रेको घाँस काटेर गोडमेलसँगै गाईबस्तुलाई आहारा जुटाउन महिलाहरू खेतमै घाँस काट्न जान्छन् । ‘हामी जंगल पनि जाँदैनौं, अन्त घाँसपात केही छैन, धानखेतबाटै घाँसको जोहो गर्छौं,’ मीनाले भनिन्, ‘सधैं सँगै घाँस काट्थ्यौं, आज मात्रै अलि टाढा थियौं ।’ हीराको हँसिया र डोरी पनि खेतमै छ । मीनालाई देउरानीको हँसिया र डोरी ल्याउने हिम्मत जुटेको छैन । उनको घरमा एक गाई, एक भैंसी छ । त्यसकै लागि दुवै जना साँझ र बिहानको समयमा घाँस काट्ने गर्थे । हीराको ३ वर्षअघि मात्रै विवाह भएको हो । उनका श्रीमान् गोपाल हिमाञ्चलमा मजदुरी गर्छन् । दुई महिनाअघि बुबा हर्कबहादुरको वार्षिकी सकेर गोपाल कामको खोजीमा हिमाञ्चल गएका छन् । उनको २ वर्षको छोरा छ । जेठानी र देउरानी दुवै सँगै बस्छन् । दुईवर्षे बालक आमा खोज्दै रोइरहेको छ । जेठानी र उनका छोराछोरीले विभिन्न कुरा गरेर भुल्याउने कोसिस गरिरहेका छन् । हीराको मृत्युबारे गोपाललाई खबर गरिएको छ । उनको शव दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । गोपाल हिमाञ्चलबाट हिँडिसकेका छन् । शुक्रबार उनी पुगेपछि मात्रै अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

खेतमा घाँस काटिरहेकी हिरादेवीको बाघको आक्रमणबाट मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top