काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीको पुनरावेदनमा दाबी पुग्न नसक्ने फैसला सुनाएको हो ।
सर्वोच्चले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा जोशीलाई दोषी ठहर गरेको हो । सर्वोच्चले यो विवादमा २०८१ असार २० गते दुवै पक्षको सुनुवाइ सकेर निसु तोकेको थियो । पहिलो निसुमा फैसला नभएपछि आइतबारका लागि निसु सरेको थियो । आइतबार सर्वोच्चले जोशीको भ्रष्टाचार मुद्दा टुङ्गाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सर्वोच्चले केही उल्टी भने गरेको छ ।
सर्वोच्चले जोशीको हकमा ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैदको फैसला सुनाएको छ । विशेषको फैसलाविरुद्ध जोशीले फागुन, २०६९ मा सर्वोच्चमा पुनरावेदन दिएका थिए । विशेषले उनलाई भ्रष्टाचारी नै ठहर गरेपछि उनी सर्वोच्च गएका थिए ।
विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले १० साउन, २०६९ मा जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको थियो । जोशीले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जफत र त्यति नै रकम जरिवाना हुने फैसला भएको थियो ।