काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले औपचारिक मान्यता प्रदान गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार विज्ञप्ति जारी गर्दै एनपिएलले आइसिसीबाट आधिकारिक मान्यता पाएको जानकारी दिएको हो।
आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म सञ्चालन हुने एनपिएलको तेस्रो संस्करणले मान्यता पाएसँगै नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान थप बलियो हुने अपेक्षा गरिएको छ।
आइसिसीको मान्यतापछि एनपिएलका फ्रेन्चाइज टोलीलाई विदेशी खेलाडी अनुबन्ध गर्न सहज हुनेछ। यसअघि टेस्ट राष्ट्रका खेलाडी अनुबन्ध गर्ने विषयमा सीमा रहेकोमा अब विदेशी खेलाडीको सहभागितामा थप सहजता आउने अपेक्षा गरिएको छ।
क्यानले आइसिसीको मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार र घरेलु प्रतियोगिताको अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
