चितवन । चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ। शनिबार बिहान निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बीसहजारी ताल नजिकैको कुमाल ताल क्षेत्रमा रोनाल्डोको शव फेला परेको हो।
निकुञ्जका अनुसार प्रारम्भिक अनुसन्धानपछि रोनाल्डोको मृत्यु विद्युत्को तारबाट करेन्ट लागेर भएको पुष्टि भएको छ। नेपाली सेनाको ब्यारेकतर्फ लगिएको विद्युत् तारसँग सम्पर्क हुँदा करेन्ट लागेर हात्ती मरेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ।
करिब ५३ वर्षको रोनाल्डो सौराहा र चितवन निकुञ्ज क्षेत्रमा लामो समयदेखि परिचित जंगली हात्ती थियो। करिब २४ वर्षअघि सौराहा क्षेत्रमा देखिएपछि स्थानीय गाइडहरूले त्यतिबेला चर्चामा रहेका ब्राजिलियन फुटबल खेलाडी रोनाल्डोको नामबाट उक्त हात्तीको नाम ‘रोनाल्डो’ राखेका थिए।
रोनाल्डो चितवनको हात्ती प्रजनन केन्द्रका लागि पनि महत्वपूर्ण भाले हात्ती मानिन्थ्यो। निकुञ्जको विवरणअनुसार खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा जन्मिएका ६९ छावामध्ये ३८ वटा रोनाल्डोकै सन्तान हुन्। यस हिसाबले केन्द्रमा जन्मिएका आधाभन्दा बढी छावाको बाबु रोनाल्डो थियो।
लामो समयदेखि जंगलमा विचरण गर्दै आएको रोनाल्डोको शरीरमा अन्य हात्तीसँग भएका भिडन्तका चोटका निशानसमेत थिए। एउटा भिडन्तका क्रममा उसले पुच्छरसमेत गुमाएको बताइन्छ।
