Spread the love
Spread the love
दोलखामा देउवा पक्षले खोल्यो छुट्टै कार्यालय
Spread the love

दोलखा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै पार्टीभित्र छुट्टाछुट्टै तयारी भइरहेका बेला दोलखामा देउवा पक्षले छुट्टै सम्पर्क तथा महाधिवेशन तयारी कार्यालय स्थापना गरेको छ।

देउवा पक्षको १५औँ महाधिवेशन तयारी समितिले दोलखाका लागि केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएका कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री कुन्दनराज काफ्लेले सदरमुकाम चरिकोटमा कार्यालय स्थापना गरेका हुन्।

काफ्लेले पार्टीको झण्डा तथा ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’ लेखिएको ब्यानर राखेर कार्यालय उद्घाटन गरेका छन्।


कार्यालयमार्फत वडा, पालिका, प्रदेशसभा क्षेत्र हुँदै जिल्ला तहका अधिवेशनका लागि आवश्यक तयारी अघि बढाउने देउवा पक्षको योजना रहेको बताइएको छ।

त्यसका लागि नेता तथा कार्यकर्तासँग समन्वय, संगठनात्मक गतिविधि सञ्चालन तथा महाधिवेशनसम्बन्धी आवश्यक छलफललाई तीव्रता दिइने तयारी समितिले जनाएको छ।

कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विभिन्न समूहले आ–आफ्नै ढंगले तयारी अघि बढाइरहेका बेला दोलखामा देउवा पक्षले कार्यालय नै स्थापना गरेर संगठनात्मक गतिविधिलाई तीव्रता दिएको हो।