काठमाण्डौ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा पुनःस्थापनाको बहस चलिरहेका बेला सामाजिक अभियन्ता मुकुन्द घिमिरे (मुकुन्दे)ले १ रुपैयाँ सहयोग गरेको विषय सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। उनले ठूलो रकम सहयोग गर्नेभन्दा आफूले तत्कालका लागि १ रुपैयाँ योगदान गरेको जनाउँदै आवश्यक परे थप सहयोग गर्ने आशय समेत व्यक्त गरेका छन्।
उनको अभिव्यक्तिमा भने राहतका लागि राज्यले गरिरहेको प्रयासप्रति व्यंग्य मिसिएको देखिन्छ।मुकुन्देले प्रधानमन्त्रीलाई लक्षित गर्दै बाढीपीडितलाई काठमाडौंमै घर बनाएर पुनःस्थापना गरे पनि आफूले दिएको रकम पर्याप्त हुने आशयको टिप्पणी समेत गरेका छन्। यही व्यंग्यात्मक प्रस्तुतिका कारण उनको १ रुपैयाँ सहयोगभन्दा पनि त्यसपछिको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा पक्ष–विपक्षमा प्रतिक्रिया देखिन थालेको छ।
यद्यपि, १ रुपैयाँ सहयोग वास्तवमै राहतका लागि गरिएको सांकेतिक योगदान हो वा सरकार तथा सम्बन्धित निकायप्रतिको व्यंग्यात्मक सन्देश, भन्ने विषय उनको अभिव्यक्तिको सन्दर्भसँग जोडेर बुझ्नुपर्ने देखिन्छ।बाढीपीडितको राहतमा ठूलो रकम आवश्यक भइरहेका बेला गरिएको यो सानो आर्थिक योगदानले भने रकमभन्दा पनि त्यससँग जोडिएको सन्देश र प्रस्तुतिको शैलीलाई चर्चामा ल्याएको छ।
