मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२, खुर्कोट-घुर्मी सडक खण्डबाट सुनकोशी नदीमा खसेर बेपत्ता भएको कार र त्यसमा सवार तीन जना यात्रुको खोजी कार्य आज पनि निरन्तर जारी राखिएको छ।
काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको बा १६ च ७२३२ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल सुनकोशी नदीमा खसेको थियो। दुर्घटनालगत्तै खटिएको स्थानीय प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीय बासिन्दाहरूले बिहानैदेखि खोजी कार्य पुनः सुरु गरेका हुन्।
प्रहरीका अनुसार कारमा सवार यात्रुहरूको पहिचान खुलिसकेको छ भने घटनाको थप कारणबारे अनुसन्धान भइरहेको छ। उद्धार टोलीले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई पनि कुनै सूचना पाइएमा तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।
