गृहमन्त्री सुधन गुरुङ र आन्दोलनकारी हिन्दुवादी मोर्चाबीच धनुषामा भएको पहिलो चरणको वार्ता कुनै ठोस सहमति बिना टुङ्गिएको छ।जिल्ला प्रशासन कार्यालय धनुषामा भएको उक्त छलफलमा मोर्चाका प्रतिनिधिहरूले गृहमन्त्री गुरुङसमक्ष आफ्नो मागपत्र पेस गरेका छन्।
उनीहरूले नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गरिनुपर्ने र आन्दोलनका क्रममा सरकारले गरेको दमनको निष्पक्ष छानबिन हुनुपर्ने मुख्य माग राखेका छन्। पहिलो चरणको बैठकमा दुवै पक्षले आ-आफ्नो धारणा राखेपछि एक घण्टापछि पुनः बस्ने गरी छलफल स्थगित भएको छ।
वार्तापछि गृहमन्त्री गुरुङले भने, “सबै पक्षले आफ्ना धारणा राख्नुभएको छ, जसलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ। उहाँहरूका मागका सम्बन्धमा निरन्तर संवाद र छलफलबाटै सहमतिको वातावरण बनाउन सरकार प्रयासरत छ।”
यस्तै, हिन्दुवादी नेता दीपु सनातनीले आफूहरूले आफ्ना अडान र मागहरू स्पष्टसँग राखेको बताउँदै नेपाललाई हिन्दू राष्ट्र कायम गराउनु नै आफूहरूको मुख्य एजेण्डा रहेको जानकारी दिए।
