चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीहरूमा वन्यजन्तुले पुर्याएको क्षतिबापत रु. १ करोड २९ लाख ९८ हजार ३०७ राहत रकम वितरण गरिएको छ।
निकुञ्ज प्रशासनले मध्यवर्ती क्षेत्रका बासिन्दालाई वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्न बाली, पशुधन र भौतिक क्षतिबापत प्रत्येक वर्ष यसरी नै राहत प्रदान गर्दै आएको हो।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका ५ जनाका परिवारलाई रु. ५० लाख राहत उपलब्ध गराइएको छ भने गम्भीर घाइतेको उपचारका लागि रु. २९ लाख ४२ हजार ४८१ र सामान्य घाइतेको उपचारका लागि रु. १ लाख ३४ हजार १७६ खर्च गरिएको छ।
त्यसैगरी, पशुधन क्षतिबापत रु. २३ लाख ६० हजार २००, अन्न बाली क्षतिबापत रु. २१ लाख ८ हजार ३००, घरगोठ क्षतिबापत रु. ३ लाख ३९ हजार ६५०, भण्डारण गरिएको अन्न क्षतिबापत रु. ७० हजार र कुखुरा क्षतितर्फ रु. ४३ हजार ५०० राहत वितरण गरिएको छ।
