अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्र बैंकमा राजनीतिक स्वार्थ हाबी गराएर गभर्नरलाई निजामती कर्मचारी जस्तो एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा गर्ने वा हटाउने जस्ता काम गर्न नहुने बताएका छन्।
प्रतिनिधिसभाको अर्थ समितिले आज सिंहदरबारमा आयोजना गरेको ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको प्रारम्भिक छलफलमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले यस्तो विचार व्यक्त गरेका हुन्।
उनले राष्ट्र बैंक जस्तो संवेदनशील संस्थामा राजनीतिक हस्तक्षेप भए त्यसको परिणाम मुलुकका लागि घातक हुने चेतावनी समेत दिए।"नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले धेरै राम्रा पक्षहरू समेटेको छ।
यसले गभर्नको नियुक्तिलाई एउटा निश्चित र स्थायी स्वरूप दिएको छ," अर्थमन्त्री वाग्लेले भने, "राजनीतिक अभिष्ट पूरा गर्न गभर्नरलाई निजामती कर्मचारीलाई जस्तै जबर्जस्ती सरुवा गर्ने वा निकाल्ने काम गरिनु हुँदैन।
राष्ट्र बैंक एउटा स्वायत्त र स्वतन्त्र निकाय हो, यहाँ राजनीति हाबी भयो भने वित्तीय क्षेत्र नै धराशायी बन्न सक्छ।"
