लामो समयदेखि कायम जग्गा मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास रेलमार्ग अन्तर्गतको अन्तिम १८ किलोमिटर खण्डको निर्माण कार्यले गति लिएको छ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार यो विवाद टुङ्गिएसँगै अबको दुई वर्षभित्र बर्दिबाससम्मै रेल सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
यसका लागि निर्माणको जिम्मा पाएको भारतीय कम्पनी 'इरकन इन्टरनेसनल' ले धनुषा र महोत्तरी क्षेत्रमा तीव्र रूपमा ट्र्याक निर्माणको काम अगाडि बढाएको छ। कुल ७० किलोमिटर लामो यस रेलमार्गको जयनगर–कुर्था खण्डमा भने २०७८ चैत १९ गतेदेखि नै नियमित रूपमा रेल सेवा सञ्चालन हुँदै आएको छ।
यसैबीच, नेपाल रेल्वे कम्पनीले विभिन्न स्थानमा अतिक्रमणमा परेको आफ्नो स्वामित्वको जग्गाको खोजी र पहिचान कार्य पनि सुरु गरेको छ। महाप्रबन्धक पराजुलीले नक्साका आधारमा अतिक्रमित जग्गाको लगत संकलन भइरहेको जानकारी दिनुभयो।
नेपाल र भारतबीचको महत्वपूर्ण सीमापार परियोजनाका रूपमा रहेको यो ब्रोडगेज रेलमार्गले दुई देशबीचको आवागमन, व्यापारिक सम्बन्ध र आर्थिक गतिविधिलाई थप सहज बनाउनुका साथै नेपालको रेल पूर्वाधार विकासमा ठूलो योगदान पुर्याउने विश्वास लिइएको छ।
