Spread the love
Spread the love
महोत्तरीको चौथो साक्षर स्थानीय तह बन्यो बर्दिबास नगरपालिका
Spread the love

महोत्तरीको बर्दिबास नगरपालिका औपचारिक रूपमा 'साक्षर नगर' घोषणा भएको छ।

शनिबार आयोजित एक विशेष समारोहका बीच मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री शारदा थापाले यस नगरलाई साक्षर घोषणा गर्नुभएपछि बर्दिबास महोत्तरी जिल्लाकै चौथो साक्षर स्थानीय तह बन्न सफल भएको हो।

विद्यालय जाने उमेर समूहबाहेक १५ देखि ६० वर्ष उमेर समूहका कम्तीमा ९५ प्रतिशत बासिन्दा साक्षर भएपछि बर्दिबास साक्षर नगरको सूचीमा परेको हो, जसका लागि नगरले साक्षरताका सबै १२ वटा सूचकहरू पूरा गरेको छ।​

नगर कार्यपालिकाको शिक्षा शाखाका प्रमुख रेवतीप्रसाद पराजुलीका अनुसार नगरको कुल ७५ हजार जनसङ्ख्यामध्ये २५ हजार विद्यार्थी नगरक्षेत्रभित्रका ८० विद्यालयमा औपचारिक शिक्षामा आबद्ध छन् भने १५ देखि ६० वर्ष उमेर समूहका ४६ हजार ५२६ जनामध्ये ४५ हजार ३३२ जनाले साक्षरताको मापदण्ड पूरा गरिसकेका छन्।

यसैबीच, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख निर्मल घिमिरेले पछिल्लो समय जिल्लाका स्थानीय तहले साक्षरता कार्यक्रमलाई अभियानका रूपमा अगाडि बढाएको जानकारी दिनुभएको छ।

उहाँका अनुसार आर्थिक वर्ष २०८३/०८४ सम्ममा जिल्लाका ६० प्रतिशत स्थानीय तहलाई साक्षर घोषणा गर्ने लक्ष्यसहित यो अभियानलाई तीव्र पारिएको छ। कुल १० नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरी जिल्लामा बर्दिबास अघि मनराशिशवा, मटिहानी र जलेश्वर नगरपालिका साक्षर घोषणा भइसकेका छन्।