काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका क्रममा सभापति पदका आकांक्षी भोलाकुमार साह कानु (अभिषेक गुप्ता)ले आफूलाई उम्मेदवारी घोषणा गरेलगत्तै महाधिवेशन प्रतिनिधिको सूचीबाट हटाइएको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गुप्ताले उम्मेदवारी दिने अवधि भर आफूलाई प्रतिनिधिको अधिकारबाट वञ्चित गरिएको र उम्मेदवारी दर्ताको समय सकिएपछि मात्रै पुनः प्रतिनिधि कार्ड कायम गरिएको बताएका छन्।उनले प्रश्न उठाएका छन्, “यदि मेरो प्रतिनिधित्व वैधानिक थियो भने उम्मेदवारी अवधिभर किन हटाइयो? र यदि अवैधानिक थियो भने अहिले किन कायम गरियो?”गुप्ताले यस्तो व्यवहारले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, निष्पक्ष प्रतिस्पर्धा तथा विधिको शासनप्रति गम्भीर प्रश्न उठाएको उल्लेख गरेका छन्।
प्रतिस्पर्धी उम्मेदवारलाई प्रक्रियाबाट बाहिर राख्ने र पछि अधिकार फिर्ता गर्ने कार्यलाई न्यायसंगत मान्न नसकिने उनको तर्क छ।“लोकतन्त्रमा प्रतिस्पर्धीलाई प्रक्रियाबाट वञ्चित गरेर पछि अधिकार फिर्ता गर्नु न्याय होइन, यसले प्रक्रियामाथिको विश्वास कमजोर बनाउँछ,” उनले फेसबुक स्टाटसमा लेखेका छन्।

