नेपाली कांग्रेसबाट निर्वाचित जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि उनको पद रिक्त भएको छ।
निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गर्दै बुढाले दल त्याग गरेका कारण उनको पद रिक्त भएको आधिकारिक जानकारी दिएको हो।
आयोगको सूचनाअनुसार अध्यक्ष बुढासँगै नेपाली कांग्रेसकै टिकटबाट निर्वाचित अन्य दुई जनप्रतिनिधि पनि पदमुक्त भएका छन्। पदमुक्त हुनेहरूमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी र रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णु ढकाल रहेका छन्।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ (१) र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ को कानुनी व्यवस्थाबमोजिम उनीहरूलाई पदमुक्त गरिएको आयोगले स्पष्ट पारेको छ।
उक्त ऐनअनुसार कुनै पनि जनप्रतिनिधिले दल त्याग गरेमा सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने प्रावधान छ। पदमुक्त भएका बुढा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गुठीचौर गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए।
