राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन आजदेखि चितवनको भरतपुरमा भव्य रूपमा सुरु हुँदैछ।
यस महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवास, यातायात, सुरक्षा र स्वयंसेवक परिचालनसहितका सम्पूर्ण व्यवस्थापकीय तयारीहरू पूरा भइसकेका छन्।
भरतपुरको गेष्टहाउस चौरमा आयोजना हुने यस विशेष समारोहको उद्घाटन पार्टी सभापति रवि लामिछाने र नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम तय भएको छ।महाधिवेशनको पूर्वसन्ध्यामा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधानमा महत्त्वपूर्ण संशोधन गर्दै केन्द्रीय समितिको आकार १५१ सदस्यीय बनाउने निर्णय गरेको छ।
नयाँ व्यवस्था अनुसार खुला प्रतिस्पर्धाबाट ९९ जना केन्द्रीय सदस्य चयन हुनेछन् भने बाँकी सदस्यहरू समावेशिताका आधारमा पार्टी सभापतिद्वारा मनोनित गरिनेछ। पार्टीको इतिहासमै पहिलोपटक पदाधिकारी तहमा महिलाको सहभागिता अनिवार्य गर्दै उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्ष जस्ता महत्त्वपूर्ण पदहरूमा कम्तीमा एक-एक जना महिला निर्वाचित हुनुपर्ने सुनिश्चितता गरिएको छ।
हाल देशभर करिब पाँच लाख सदस्य संख्या पुर्याएको रास्वपाको यस महाधिवेशनमा कुल ३ हजार ९१८ प्रतिनिधिहरू सहभागी हुँदैछन्। पार्टीले देशका ६१० पालिका र चार हजारभन्दा बढी वडाहरूमा आफ्नो अधिवेशन सम्पन्न गरी प्रतिनिधिहरू छनोट गरिसकेको छ।
परम्परागत भ्रातृ सङ्गठन नबनाई टोलस्तरसम्मै मूल पार्टी संरचना विस्तार गर्ने रणनीति लिएको रास्वपाले यस महाधिवेशनमार्फत आफ्नो आगामी राजनीतिक कार्यदिशा, नीतिगत प्रस्ताव र नयाँ नेतृत्व चयनलाई मुख्य प्राथमिकतामा राखेको छ।
