Spread the love
Spread the love
स्वयम्भू महाचैत्यको पुरातात्त्विक स्वरूप जोगाउन गुम्बजको चुना हटाइँदै
Spread the love

​विश्व सम्पदा सूचीमा अङ्कित एवं बौद्ध धर्मावलम्बीहरूको पवित्र आस्थाको केन्द्र स्वयम्भू महाचैत्यको गुम्बजमा वर्षौंदेखि थुप्रिएको चुनाको बाक्लो पत्र सफा गर्ने कार्य थालनी गरिएको छ।

बुद्ध पूर्णिमा लगायतका विशेष धार्मिक पर्वहरूमा श्रद्धालुहरूले महाचैत्यमा चुना पोत्ने परम्परा रहेका कारण विगत केही वर्षदेखि संकलन भएको चुनाको तह हाल १३ देखि १५ इन्चसम्म बाक्लो पुगेको छ।

यसरी अत्यधिक मात्रामा चुना जम्दा महाचैत्यको संरचनामा भार बढ्नुका साथै यसको वास्तविक गोलाइ, मौलिक स्वरूप र पुरातात्त्विक संवेदनशीलता खस्कने जोखिम बढेकाले यसको संरक्षण र जीर्णोद्धारका लागि विशेष अभियान चलाइएको हो। यसअघि पनि करिब १२-१३ वर्ष पहिले यसरी नै गुम्बजको सफाइ गरी २२ देखि ३० इन्चसम्मको चुनाको तह हटाइएको थियो।​

पुरातत्त्व विभागको स्वीकृति र प्राविधिक रेखदेखमा स्वयम्भू व्यवस्थापन समितिका दक्ष कालिगढ तथा कर्मचारीहरूले मूल संरचनामा कुनै असर नपर्ने गरी निकै सतर्कतापूर्वक चुना निकाल्ने काम गरिरहेका छन्।

करिब एक महिनाभित्र सम्पन्न हुने अनुमान गरिएको यस कार्यपछि स्वयम्भू महाचैत्यले आफ्नो आदिम सौन्दर्य र वास्तविक ऐतिहासिक स्वरूप पुनः प्राप्त गर्ने विश्वास गरिएको छ।

काठमाडौं उपत्यकाको प्राचीन सभ्यता र संस्कृति बोकेको यस सम्पदाको संवर्द्धन कार्यलाई स्थानीय बासिन्दा, बौद्ध भिक्षु, इतिहासकार एवं सम्पदाप्रेमीहरूले अत्यन्त उत्साह र चासोका साथ नियालिरहेका छन्।