Like this:

पोखरा बसपार्क क्षत्रका संरचना १५ दिनभित्र हटाउन निर्देशन, अटेर गरे महानगर आफैँले भत्काउने​

पोखरा उपत्यका नगर विकास समितिले पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायतका सम्पूर्ण अस्थायी संरचनाहरू १५ दिनभित्र हटाउन शनिबार सार्वजनिक सूचना जारी गरेको छ। समितिले पोखरा घरदेखि सेती पुल, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रभित्र पर्ने अतिक्रमित संरचनाहरू खाली गरी बसपार्क निर्माण प्रक्रियामा सहयोग गर्न व्यवसायीहरूलाई सूचित गरेको हो।

तोकिएको अवधिभित्र संरचना स्वतःस्फूर्त रूपमा नहटाएमा समिति आफैँले हटाउने र सो क्रममा लाग्ने सम्पूर्ण खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुलउपर गरिने चेतावनी दिइएको छ। यसका साथै, बसपार्क क्षेत्रभित्र लालपुर्जा भएका जग्गाधनीहरूलाई ७ दिनभित्र नागरिकता, जग्गाधनी प्रमाणपुर्जा र चालु आर्थिक वर्षको कर तिरेको रसिदसहित कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ।​

पृथ्वीचोकस्थित यस बसपार्कको जग्गा खाली गराउन यसअघि गत वैशाख ४ गते पोखरा महानगरपालिकाले ३५ दिने सूचना जारी गरेको थियो। उक्त सूचनाको म्याद शनिबार सकिएलगत्तै नगर विकास समितिले यो नयाँ कडा कदम चालेको हो। हाल सो क्षेत्रमा सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीका नाममा झण्डै ५०० परिवारले घरटहरा बनाएर जग्गा अतिक्रमण गरेका छन्।

महानगरपालिकाले वास्तविक सुकुम्बासीहरूको पहिचान गरी उनीहरूलाई उचित व्यवस्थापन गर्ने र अन्य अतिक्रमित संरचनाहरू पूर्ण रूपमा खाली गराएरै छाड्ने योजना बनाएको छ।​वि.सं. २०३१/३२ तिर आधुनिक र सुविधासम्पन्न बसपार्क बनाउने उद्देश्यका साथ सरकारले कुल २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो|

तर, दशकौँदेखि निरन्तर हुँदै आएको तीव्र अतिक्रमणका कारण अहिले बसपार्कको जग्गा खुम्चिएर मात्र करिब ६० रोपनीमा सीमित हुन पुगेको छ। बाँकी रहेको यो जग्गालाई संरक्षण गर्दै प्रस्तावित आधुनिक पोखरा बसपार्क निर्माणको अधुरो प्रक्रियालाई द्रुत गतिमा अगाडि बढाउन महानगर र समितिले संयुक्त रूपमा यो कडा कदम चालेका हुन्।

Like this: