प्रजातान्त्रिक गणतन्त्र कंगोमा 'बुन्डिबुग्यो' नामक दुर्लभ इबोलाको प्रकोप पुष्टि भएपछि त्यहाँको राष्ट्रिय फुटबल टोलीका सदस्यहरूले विश्वकपका लागि अमेरिका प्रवेश गर्नु अघि २१ दिन आइसोलेसनमा बस्नु पर्ने भएको छ।
ह्वाइट हाउस टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्रयू गिउलियानीले शुक्रबार इएसपिएनसँग कुरा गर्दै कंगोली टोली जुन ११ मा ह्युस्टन आउनु अघि अनिवार्य रूपमा आइसोलेसनमा बस्नुपर्ने र यसो नगरे अमेरिका यात्रा गर्न नपाउने जोखिम रहने बताएका छन्। कंगोमा अहिलेसम्म लगभग ६०० शंकास्पद केसहरू मध्ये १३० भन्दा बढीको मृत्यु भइसकेकाले विश्वकप नजिक स्वास्थ्य र सुरक्षाको मुद्दाहरूमा अमेरिकाले कुनै पनि जोखिम नलिने स्पष्ट पारेको छ।
इबोलाको प्रकोप फैलिएपछि कंगोली प्रतिनिधिमण्डल अहिले देश बाहिर बेल्जियममा प्रशिक्षण गरिरहेको छ। फ्रान्सेली मुख्य प्रशिक्षक सेबास्टियन देसाब्रे सहित कंगोका सबै टोली सदस्यहरू हाल मध्य अफ्रिकी देश बाहिर छन् र उनीहरूमध्ये धेरैजसो युरोपमा व्यावसायिक फुटबल खेल्छन्।
यसमा इङ्गल्याण्डको प्रिमियर लिगमा खेल्ने डिफेन्डर आरोन वान–बिसाका (वेस्ट ह्याम युनाइटेड) र फरवार्ड योआन विसा (न्यूक्यासल युनाइटेड) तथा फ्रान्सको लिग १ मा खेल्ने कप्तान एवं डिफेन्डर चान्सेल म्बेम्बा (लिल) सामेल छन्।आइसोलेसन र तयारीकै क्रममा कंगोको टोलीले जुन ३ मा बेल्जियमको लिजमा डेनमार्क विरुद्ध र जुन ९ मा दक्षिणी स्पेनमा चिलीसँग मैत्रीपूर्ण खेल खेल्नेविश्वकप अघि कंगो टोलीलाई २१ दिने आइसोलेसन तालिका रहेको छ।
यस वर्षको विश्वकपका लागि कंगो समूह ‘के’ मा परेको छ। टोलीले आफ्नो विश्वकप यात्राको सुरुवात जुन १७ मा ह्युस्टनमा पोर्चुगल विरुद्धको खेलबाट गर्नेछ भने त्यसपछि जुन २३ मा मेक्सिकोको ग्वाडालाजारामा कोलम्बियासँग र जुन २७ मा एटलान्टामा उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
