Spread the love
Spread the love
नेपाल र थाइल्यान्डबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्य सुदृढ बनाउने सहमति
Spread the love

थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओली र थाइ परराष्ट्र मन्त्रालयकी महानिर्देशक उरासा मोङकोलनाभिनबीच बिहीबार ब्याङ्ककमा भेटवार्ता भएको छ। उक्त अवसरमा दुई देशबीचको घनिष्ठ सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै व्यापार, लगानी, पर्यटन, संस्कृति, कृषि र शिक्षा जस्ता आपसी हितका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भयो।

दुवै पक्षले गत वर्ष सम्पन्न आठवटा समझदारीको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै कृषि तथा फौजदारी मामिलामा प्रस्तावित सम्झौताहरूलाई शीघ्र निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।भेटका क्रममा नेपाल–थाइल्यान्ड संयुक्त परामर्श संयन्त्रको आगामी बैठक यथाशीघ्र नेपालमा आयोजना गर्ने र दुई देशका उत्पादनबीचको मूल्य शृङ्खलालाई सुदृढ गर्ने विषयमा पनि विचार आदानप्रदान भयो।

विशेष गरी हिमाली र समुद्री स्रोतमा आधारित वस्तु तथा सेवाको एकीकरणमार्फत थप मूल्य अभिवृद्धि गर्ने र व्यापारिक परिपूरकता बढाउने कुरामा जोड दिइएको छ। यसले दुवै देशको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।साथै, दुवै पक्षले पारस्परिक आधारमा भिसा प्रक्रियालाई सहज बनाउने र पर्यटन सेवामा सुधार ल्याउने सहमति गरेका छन्।

मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण र साइबर अपराध जस्ता साझा चुनौती नियन्त्रणका लागि सूचना तथा गुप्तचर आदानप्रदानमा सहकार्य गर्ने निर्णय भएको छ। क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा एकअर्काको उम्मेदवारीलाई समर्थन गर्दै अन्तर्राष्ट्रिय स्तरमा समेत सहकार्य अभिवृद्धि गर्ने प्रतिबद्धता दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।