काठमाण्डौ, सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज संघीय संसदमा प्रस्तुत गर्ने भएको छ। संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अपराह्न ४ बजे राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने कार्यसूची तय गरिएको छ। त्यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक बस्नेछ। आजबाट संघीय संसद्को बजेट अधिवेशनसमेत सुरु हुँदै छ।
प्रतिनिधिसभा नियमावलीको परिच्छेद ७ अनुसार बजेट अधिवेशनमा राष्ट्रपतिमार्फत सरकारको नीति तथा कार्यक्रम संयुक्त बैठकमा प्रस्तुत गरिने व्यवस्था छ। राष्ट्रपतिबाट वाचन सम्पन्न भएपछि प्रधानमन्त्रीले उक्त नीति तथा कार्यक्रम प्रतिनिधिसभा र राष्ट्रिय सभामा टेबुल गर्ने प्रावधान रहेको छ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार राष्ट्रपतिको सम्बोधनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ। अतिथि व्यवस्थापनदेखि अन्य प्रशासनिक तयारीसमेत सकिएको उनले जानकारी दिएका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी नीति तथा कार्यक्रम र बजेट सत्तारुढ दलको घोषणापत्र तथा प्राथमिकताअनुसार ल्याइने बताएका छन्।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार वैशाख २८ गते नीति तथा कार्यक्रम टेबुल हुनेछ भने वैशाख ३० गते त्यसमाथि छलफल गरी पारित गर्ने तयारी गरिएको छ।
बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले हाल जारी गरेका आठवटा अध्यादेश पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ। साथै राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइनेछ।
त्यसैगरी प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गरिने, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने तथा बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि प्रस्तुत गर्ने तयारी गरिएको छ। सरकारले बजेट अधिवेशनमा कम्तीमा ४५ वटा विधेयक दर्ता गर्ने योजना बनाएको छ भने अध्यादेश प्रतिस्थापनसम्बन्धी विधेयकसमेत ल्याइने बताइएको छ।
