कैलाली, सार्वजनिक र अतिक्रमित जमिनमा बनाइएका संरचनामाथि कडा कदम चालिरहेको समयमा सत्तारुढ दल रास्वपाकै एक सांसदको घर ऐलानी जग्गामा बनेको विषय बाहिर आएको छ। बालेन्द्र शाह नेतृत्वमा अतिक्रमणविरुद्ध डोजर अभियान अघि बढिरहेकै बेला सोही दलका सांसद केपी खनालसँग सम्बन्धित तथ्य सार्वजनिक भएको हो।
कैलालीको लम्कीचुहा नगरपालिका–१, बसपार्क आसपास निर्माणाधीन उक्त घर ऐलानी जग्गामा रहेको र त्यससँग सम्बन्धित लालपूर्जा तथा नक्सा स्वीकृति नभएको बताइएको छ।
सांसद खनालका स्वकीय सचिव हर्क पुनले पनि घर ऐलानी जमिनमै बनेको स्वीकार गरेका छन्। उनका अनुसार खनालका अभिभावकले भारतमा मजदुरी गरेर कमाएको रकमबाट घर निर्माण गरिएको हो।
निर्वाचनका क्रममा खनालले आफूलाई सुकुम्बासी पृष्ठभूमिबाट आएको उम्मेदवारका रूपमा प्रस्तुत गरेका थिए। भूमिहीनको पक्षमा आवाज उठाउँदै उनले मतदाताको समर्थन हासिल गरेका थिए।
यसैबीच, शुशिला शाहीले पनि उक्त क्षेत्रमा हालसम्म लालपूर्जा वितरण नभएको र नक्सा पास प्रक्रिया समेत पूरा नभएको जानकारी दिएकी छन्। भूमि आयोगमार्फत केही प्रक्रिया अघि बढे पनि अन्तिम रूपमा जग्गा स्वामित्व प्रदान भने हुन बाँकी रहेको जनाइएको छ।
कैलाली जिल्लामा ठूलो संख्यामा भूमिहीन तथा अव्यवस्थित बसोबास गर्ने परिवारहरू रहेका छन्। भूमि समस्या समाधान आयोगका अनुसार लम्कीचुहामा मात्र हजारौँ यस्ता परिवार बसोबास गरिरहेका छन्।
सरकारले अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिइरहेको अवस्थामा आफ्नै दलका सांसदसँग सम्बन्धित यस्तो विषय सार्वजनिक भएपछि नीतिको समान कार्यान्वयनबारे प्रश्न उठ्न थालेको छ। अब डोजर अभियान सबैका लागि बराबरी रूपमा लागू हुन्छ वा हुँदैन भन्ने विषयमा बहस चुलिएको छ।
