चैत महिनामा नेपालका विभिन्न भूभागमा भएका आगलागी, हावाहुरी, चट्याङ र हिमपात जस्ता दैवी विपत्तिमा परी ३० जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेहरूमा १६ पुरुष, १० महिला र ४ बालबालिका रहेका छन् भने यी घटनाहरूमा परी २२२ जना घाइते भएका छन्। विशेषगरी यो समय सुक्खा मौसम र तीव्र गतिको हावा चल्ने समय भएकाले तराई र पहाडी क्षेत्रका बस्तीहरूमा आगलागी र डढेलोको जोखिम उच्च देखिएको हो, जसले सर्वसाधारणको जनजीवन निकै कष्टकर बनाएको छ।
विपद्का कारण भौतिक सम्पत्तिमा पनि ठूलो क्षति पुगेको छ, जहाँ १९१ घर, ११७ गोठ र ३ वटा सरकारी कार्यालयहरू ध्वस्त वा क्षतिग्रस्त भएका छन्। यस अवधिमा ५२९ चौपाया मरेका छन् भने कुल ३३ करोड ७२ लाख ६१ हजार रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ।
यी घटनाहरूले गर्दा १४३ जना मानिसहरू आफ्नो घरबास छोडेर विस्थापित हुनुपरेको छ, जसलाई तत्काल राहत र पुनस्र्थापनाको आवश्यकता देखिएको छ।देशभरि भएका कुल घटनाहरूलाई हेर्दा कोशी प्रदेशमा सबैभन्दा धेरै २७२ वटा विपद्का घटनाहरू भएका छन् भने मधेसमा १३६, बागमतीमा ८५ र लुम्बिनीमा १२९ वटा घटनाहरू दर्ता भएका छन्।
विपद्को समयमा उद्धार र राहत कार्यलाई तीव्रता दिन देशभर ४,८४१ जना प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभएको छ। प्रि-मनसुनको समयमा अझै चट्याङ र हावाहुरीको सम्भावना रहने भएकाले स्थानीय प्रशासनले सर्वसाधारणलाई सतर्क रहन र आगलागी हुन नदिन विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
