काठमाण्डौ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद राजु पाण्डेले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीको आधिकारिक निर्णय र हाम्रो पार्टीको प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र साह नै हुनुहुन्छ। यसबारे कुनै द्विविधा छैन। कसैले गैरजिम्मेवार ढंगले अनावश्यक कुरा फैलाउने प्रयास गरे त्यसलाई न पार्टीले स्वीकार्छ, न जनताले,” उनले भने।
पाण्डेले पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई आधिकारिक धारणा विपरीत सार्वजनिक रूपमा टिप्पणी गर्ने छुट नभएको पनि बताए। सभापति वा उपसभापतिले समेत बालेन्द्र साहको विकल्पबारे कुनै कुरा नगरेको अवस्थामा बाहिर आएका हल्ला आधारहीन रहेको उनको भनाइ थियो।
उनले पार्टीभित्रका सदस्यलाई मिडियामा बोल्दा संयमित हुन आग्रह गर्दै पार्टीको नीतिभन्दा बाहिर गएर व्यक्तिगत धारणा व्यक्त नगर्न सुझाव दिए। उनका अनुसार यो पार्टीभित्र सुशासन कायम गर्ने विषयसँग पनि जोडिएको छ।
सुशासनका सन्दर्भमा उनले राजनीतिज्ञमात्र होइन, कर्मचारीतन्त्रको काम गर्ने शैलीमा पनि व्यापक सुधार आवश्यक रहेको बताए। जनताले व्यक्तिको मात्र होइन, कार्यशैली र प्रवृत्तिको समेत परिवर्तन चाहेको उनको धारणा थियो।
देशमा सुशासनको आवश्यकता छ। नागरिकले सरकारी कार्यालय पुग्दा नै त्यसको अनुभव गर्न सक्नुपर्छ। त्यसका लागि हामी कडा रूपमा अघि बढ्नेछौँ,उनले भने।
पुरानै ढर्रामा काम गर्ने प्रवृत्ति परिवर्तन नभएसम्म रास्वपाले परिकल्पना गरेको सुशासन सम्भव नहुनेमा उनले जोड दिएका छन्।
