काठमाण्डौ, नेकपा एमाले सिराहाका विभिन्न तहका नेता–कार्यकर्ताले पार्टीको साधारण सदस्यबाटै राजीनामा दिएका छन्। गोलबजार नगरपालिकामा आज उनीहरूले पार्टीसँगको सबै राजनीतिक सम्बन्ध समाप्त भएको घोषणा गरेका छन्।
उनीहरूले पार्टी नेतृत्वमा स्वेच्छाचारी शैली र एकपक्षीय निर्णय प्रक्रियाको आलोचना गर्दै सामूहिक रूपमा राजीनामा दिएको बताएका छन्। विज्ञप्तिमा जनताको हितमा राजनीति गर्ने भनिए पनि व्यवहारमा केही व्यक्तिको स्वार्थ प्रधान भएको उल्लेख गरिएको छ। संगठनभित्र सुधारका प्रयास गर्दा पनि नेतृत्वले त्यसलाई गम्भीरतापूर्वक नलिएको, इमानदार कार्यकर्तालाई पन्छाउने र आलोचना दबाउने गरेको आरोप उनीहरूले लगाएका छन्।
राजीनामा दिनेहरूमा प्रदेश कमिटी सदस्य पुष्पलाल पाख्रिन, पूर्वजिल्ला कमिटी सदस्य माधवबहादुर बुढाथोकी, शिक्षक तथा जनसंगठन प्रदेश सदस्य भीमबहादुर थापा, पूर्वजिल्ला कमिटी सदस्य धनराज यादव, तेजकुमार लामा, तुलसीप्रसाद उपाध्याय, प्रमोदकुमार लामा, पूर्ववडा कमिटी अध्यक्ष राजकरण साह, नगर कमिटी सचिवालय सदस्य रन्जितकुमार लामा, नगर सदस्य ताराबहादुर तामाङ, किरणकुमार स्याङ्वा र राजकुमार महतो रहेका छन्।
