काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा–विश्वप्रकाश शर्मा समूहलाई दिएको निर्णयपछि राजनीतिक तहमा फरक–फरक खालका प्रतिक्रिया देखिएका छन्। एमालेका सचिव महेश बस्नेतले उक्त निर्णयप्रति कडा आपत्ति जनाउँदै असन्तोष व्यक्त गरेका छन् भने एमालेकै केन्द्रिय सदस्य गोकुल बास्कोटाले निर्णयलाई सकारात्मक रूपमा लिँदै खुसी प्रकट गरेका छन्।
महेश बस्नेतले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया जनाउँदै यस कदमले लोकतन्त्र र विधिको शासनमाथि प्रश्न उठाएको बताएका छन्। उनका अनुसार संवैधानिक निकायबाटै बाह्य प्रभाव देखिनु गम्भीर विषय हो र यस्तो अवस्थामा वैकल्पिक राजनीतिक पहल अपरिहार्य बन्दै गएको छ।
उता गोकुल बास्कोटाले भने गगन थापा र विश्वप्रकाश शर्मालाई शुभकामना दिँदै राजनीतिक निर्णयले कानुनी मान्यता पाएको बताएका छन्। उनले यो विषय अन्ततः सर्वोच्च अदालतसम्म पुग्न सक्ने संकेत गर्दै सडक शान्त रह्यो भने निर्वाचन प्रक्रिया अघि बढ्ने अपेक्षा व्यक्त गरेका छन्। साथै उनले कांग्रेसलाई जनताले माया गर्ने दलका रूपमा रूपान्तरण गर्न सकियोस् भन्ने कामना पनि गरेका छन्।