काठमाडौँ। रास्वपाका सभापति रवि लामिछाने आज रिहा हुने भएका छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा भएपछि उनलाई थुनामुक्त गरिनेछ।
लामिछाने हिजो नै रिहा हुने तयारी भए पनि उनी स्वयं रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएकाले प्रक्रिया रोकिएको थियो। उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले तीन सर्तसहित उनलाई थुनामुक्त गर्न आदेश दिएको हो। आदेशमा बिगोसम्बन्धी दायित्व सिर्जना भए तिर्न–बुझाउन सहमति जनाउने कागज गराउनुपर्ने उल्लेख छ।
रुपन्देही जिल्ला अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलका अनुसार उच्च अदालतको पत्र प्राप्त भएपछि बैंक जमानत प्रमाणीकरण, सनाखतलगायत प्रक्रिया पूरा गरिनेछ। हाल लामिछाने ललितपुरको नख्खु कारागारमा रहेका छन्।
बुटवलस्थित सुप्रिम सहकारीको रकम दुरुपयोगसम्बन्धी मुद्दामा यसअघि २०८१ माघमा बुझाएको एक करोड रुपैयाँ धरौटी पुनः दाखिला गर्नुपर्नेछ। उक्त धरौटी यसअघि फुकुवा भइसकेको र त्यसबारे उनका कानुन व्यवसायीलाई जानकारी गराइसकिएको अदालतले जनाएको छ।
बिगोको हकमा दामासाहीले पर्ने रकम सुनिश्चित गर्ने प्रतिबद्धतासहित लामिछानेले बैंक जमानत पेश गरेका थिए। उच्च अदालतले दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानतलाई सर्तसहित स्वीकार गरेको हो। अदालतको आदेशअनुसार सबै प्रक्रिया पूरा भएपछि मात्र उनलाई रिहा गरिने कारागार व्यवस्थापन विभागले जनाएको छ।
