काठमाण्डौ,पूर्वमन्त्री घनश्याम भुसालले आगामी प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै मुख्य अवरोध बन्न खोजेको आरोप लगाएका छन्।
उहाँका अनुसार अन्तरिम सरकारले तोकेको फागुन २१ गतेको निर्वाचन स्थगित गर्नुपर्ने कुनै राजनीतिक वा प्राविधिक कारण छैन। जेनजी आन्दोलनपछि संसद् विघटन भई सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले नै उक्त मितिमा निर्वाचन घोषणा गरेको हो।
तर केही दलहरुले सरकारले पर्याप्त चुनावी वातावरण बनाउन नसकेको भन्दै आक्षेप लगाइरहे पनि, भुसालले भने चुनाव अगाडि बढ्नैपर्ने अवस्था बनेको दाबी गर्नुभयो।
एमाले संसद पुनःस्थापनाको मुद्दा उठाइरहेको छ भने कांग्रेसभित्र पनि मत एकमत छैन। अन्य अधिकांश दल भने निर्वाचनमा सहभागी हुने तयारीमै छन्।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै भुसालले भने 'आफूहरु नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसहित चुनावमा जाने स्पष्ट पारे। आफ्नो समूह पहिल्यै संगठित राजनीतिक दल भइसकेको बताउँदै, एजेण्डासहित चुनावमा प्रस्तुत हुने जानकारी दिए।
उहाँका अनुसार चुनाव रोक्ने वा सार्ने वास्तविक कारण केही पनि छैन, बरु अध्यक्ष ओलीले मात्रै अनावश्यक रूपमा विवाद सिर्जना गरिरहेको आरोप छ।
भुसालले थपे, ओली चुनावमा सहजै जान चाहँदैनन्, तर जनता र राजनीतिक परिस्थितिले लतारेर भए पनि अन्ततः चुनावमा आउनैपर्ने बाध्यता हुनेछ।

