नेकपा (एमाले) ले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि निवर्तमान सांसदहरूबाट हस्ताक्षर संकलन सुरु गरेको छ । जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भई आगामी २१ फागुनमा निर्वाचन मिति तोकिएको अवस्थामा एमालेले संसद् पुनःस्थापनालाई राजनीतिक निकासका रूपमा अघि सारेको हो ।
दलको निर्णयअनुसार सांसदहरूको समर्थन जुटाउने अभियान सुरू गरिएको छ । निवर्तमान सांसद हेमराज राईका अनुसार, आफूले दलको कार्यालयमा गएर हस्ताक्षर गरिसकेका छन् । ‘धेरै साथीहरू पनि कार्यालयमा आएका थिए, कतिले साइन गरे भन्ने ठ्याक्कै थाहा छैन,’ उनले भने । सांसद मेनका पोखरेलले पनि आफ्नो हस्ताक्षर भएको पुष्टि गर्दै भनिन्, ‘यो पार्टीको आन्तरिक प्रक्रिया हो, विस्तृत जानकारी छैन ।’ रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठलगायत अन्य सांसदहरूले पनि हस्ताक्षर गरेका छन् ।
एमाले संसदीय दलका अधिकारीका अनुसार बिहीबारसम्म करिब १५ जना सांसदका हस्ताक्षर संकलन भइसकेका छन् ।
यसबीच, विघटित संसद्को प्रमुख सचेतक महेश बर्तौलाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै यसको समाधानका उपायबारे अन्य दलहरूसँग छलफल भइरहेको बताएका छन् । उनका अनुसार, एमालेले कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरूसँग संयुक्त कदमबारे परामर्श जारी राखेको छ ।

