Like this:

आज कागतिहार देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
कागलाई यमराजको दूत मानिने भएकाले यस दिन उसलाई घर–आँगनमा बोलाई पकाइएका मीठो परिकारहरू चढाउने चलन छ।

काठमाडौं, कात्तिक आज कात्तिक कृष्ण त्रयोदशीका दिन कागतिहारको रूपमा देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। हिन्दू परम्पराअनुसार आजको दिन कागलाई पूजा–आजा गरी भोजन खुवाइन्छ। कागलाई यमराजको दूत मानिने भएकाले यस दिन उसलाई घर–आँगनमा बोलाई पकाइएका मीठो परिकारहरू चढाउने चलन छ। धार्मिक विश्वासअनुसार कागतिहारका दिन कागलाई पूजा नगरे वा भोजन नखुवाए पापको भागी हुनुपर्ने मान्यता समेत रहेको छ।

यसै दिन समुद्र मन्थनका बेला उत्पन्न भई आयुर्वेदका प्रवर्तक ऋषि धन्वन्तरीको सम्झनामा धन्वन्तरी दिवस पनि मनाइन्छ। धन्वन्तरीलाई आयुर्वेद चिकित्सा विज्ञानका जनकका रूपमा सम्मान गरिन्छ। स्वास्थ्य र दीर्घायुको कामनासहित भक्तजनहरूले आज धन्वन्तरीको आराधना गर्ने परम्परा छ।

त्यस्तै, आजको दिन यमदिप दान गर्ने धार्मिक परम्परासमेत रहँदै आएको छ। यमराजको यातनाबाट मुक्ति पाउनका लागि घरको दक्षिण भागमा दीप प्रज्वलन गरी दान गर्नुपर्ने धार्मिक विश्वास छ। यस विधिलाई यमदीप दान भनिन्छ।

कागतिहारले पाँच दिने तिहार पर्वको औपचारिक सुरुवात पनि जनाउँछ। भोलि कुकुर तिहार, पर्सि लक्ष्मी पूजा, त्यसपछि गोवर्धन पूजा र भाइटीकाका साथ तिहार पर्व सम्पन्न गरिन्छ।

Like this: