Like this:

सत्ता पक्ष एमाले कांग्रेसको घमण्डले मुलुकलाई अपूरणीय क्षति : माधवकुमार नेपाल
जनप्रतिनिधिहरूको जनताप्रति देखिएको उदासीनता र निषेधात्मक सोचको आलोचना गर्दै त्यसले आन्दोलन चर्किन पुगेको बताए।

काठमाण्डौ/ पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा भएको पछिल्लो जेनजी आन्दोलनले मुलुकमा गम्भीर र अपूरणीय क्षति पुर्‍याएको भन्दै त्यसको जिम्मेवार सत्तापक्षको घमण्ड र उदासीनतालाई ठहर गरेका छन्।

नेपालका अनुसार युवा पुस्ताले उठाएका जायज मागलाई समयमै सम्बोधन नगरेको र नेताहरूको व्यवहारमा देखिएको अहंकारले गर्दा परिस्थिति हिंसात्मक दिशातर्फ मोडिएको हो। उनले जनप्रतिनिधिहरूको जनताप्रति देखिएको उदासीनता र निषेधात्मक सोचको आलोचना गर्दै त्यसले आन्दोलन चर्किन पुगेको बताए।

नेपालले विगतका अनुभवबाट सिक्दै शान्ति, स्थिरता, सुशासन र समावेशी आर्थिक विकासतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार भ्रष्टाचार, बेरोजगारी, कुशासन र सामाजिक असमानताको अन्त्य नगरेसम्म युवा पुस्ताको आक्रोश थामिँदैन।

उनले आन्दोलनमा ज्यान गुमाएका युवाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै भने – “देशभित्रै अवसरको वातावरण बनाइने हो भने मात्रै ती सहिदप्रति साँचो सम्मान हुनेछ।”

नेपालले सबै राजनीतिक दल, नागरिक समाज र राज्यका अङ्गहरूलाई सहकार्यका लागि तयार रहन आग्रह गर्दै, पछिल्लो राजनीतिक परिवर्तनलाई सकारात्मक दिशामा लैजान आवश्यक रहेको बताए।

Like this: