पोखरा, भदौ २२ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले हालको कांग्रेस–एमाले सरकारलाई बिचौलियाले बनाएको आरोप लगाएका छन्।
शनिबार लमजुङको भोर्लेटारमा आयोजित कार्यक्रममा प्रचण्डले भने, “यो सरकार कांग्रेस र एमालेले बनाएको होइन। दलाल र बिचौलियाले पैसा र धम्कीमार्फत बनाएको सरकार हो।” उनले बिचौलियाले नेताहरुलाई रातको समयमा आफ्नै घरमा लगेर सरकार गठन गराएको दाबी गरे।
उनले थपे, “यदि कांग्रेस–एमाले एक भएनन् भने देश माओवादीले अगाडि बढाउने अवस्था थियो। त्यसैले बिचौलियाले पार्टीहरूलाई अलिअलि पैसा र दबाब मार्फत असंवैधानिक सरकार बनाएको हो।”
बिचौलियाले कमिशन मार्फत करोडौं कमाउने, उद्योग वा रोजगार सिर्जना नगर्ने तर शक्तिशाली बनेको आरोप पनि प्रचण्डले लगाए। उनले भ्रष्टाचार नियन्त्रण र जनताको हितमा काम गर्ने अभियानमा माओवादी लागिपरेको बताए।
अध्यक्ष प्रचण्डले माओवादी पार्टीको एकता पनि पुनः स्थापित गर्ने प्रयास भइरहेको र केही नेता मिलिसकेको जानकारी दिए। साथै, देशमा ‘पपुलिजम’ बढेको भन्दै त्यसलाई नयाँ राजनीतिक दृष्टिकोणबाट नियन्त्रण गर्नुपर्ने बताएका छन्।
शनिबारको कार्यक्रममा प्रचण्डले इशानेश्वर महादेव मन्दिर क्षेत्रको अवलोकन समेत गरे। अभियान अन्तर्गत आइतबार उनी राममणि भट्टराईका परिवार भेट्ने र जनसभामा सहभागी हुने कार्यक्रम तय गरिएको छ। माओवादी केन्द्रका उपाध्यक्षहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र महासचिव देव गुरुङ पनि अभियानमा सहभागी छन्।

