काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको आश्रित परिवारलाई काठमाडौं महानगरपालिकाले रोजगारी र शिक्षाको जिम्मेवारी लिने गरी ९ बुँदे सहमति गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गृह प्रशासन, महानगरपालिका र पीडित परिवारबीच आइतबार भएको वार्तामा मृतककी श्रीमती एकमाया नेपालीलाई उनको योग्यता तथा क्षमताका आधारमा महानगरमा रोजगारी सुनिश्चित गर्ने ग्यारेन्टी गरिएको हो। यस विषयलाई महानगरको आगामी कार्यपालिका बैठकबाट निर्णय गराई औपचारिकता दिइने सहमति पत्रको चौथो बुँदामा उल्लेख छ।
यसका साथै, महानगरपालिकाले मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च ब्यहोर्ने प्रतिबद्धता जनाएको छ भने आगामी कार्यपालिका बैठकबाटै निर्णय गराएर आश्रित परिवारलाई राहतस्वरूप यथोचित आर्थिक रकम समेत उपलब्ध गराउनेछ।
यस दुःखद घडीमा काठमाडौंमा गरिने काजक्रिया तथा अन्तिम संस्कारको सम्पूर्ण खर्च र व्यवस्थापनको जिम्मेवारी पनि महानगरले नै सम्हाल्ने भएको छ। साथै, पीडित परिवारको सुरक्षित भविष्यका लागि एकाघरका सदस्यहरूको स्वास्थ्य बिमाको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत मिलाइने सहमतिसमेत भएको छ।
